करोडौँको लगानी बरहवा ताल संरक्षण अभावमा जीर्ण

1200x150_1200x150-01.jpg (1)

रौतहट : कुनै समय गौरको गौरव र स्थानीयवासीको प्रमुख घुमफिरस्थलका रूपमा परिचित बरहवा ताल अहिले संरक्षण अभावमा बेहाल बनेको छ। करोडौँ रुपैयाँ खर्चेर सौन्दर्यीकरण तथा पूर्वाधार निर्माण गरिए पनि नियमित सरसफाइ र रेखदेख नहुँदा ऐतिहासिक ताल जलकुम्भी, झारपात र फोहोरले ढाकिएको छ।

रौतहटको सदरमुकाम गौर नगरपालिकाको मुख्य बजारबाट उत्तर–पूर्वमा अवस्थित बरहवा ताल कुनै समय ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल मानिन्थ्यो। प्राकृतिक सौन्दर्यले भरिपूर्ण तालमा बिहान र साँझ सयौँ स्थानीयवासी मर्निङ वाक, व्यायाम तथा फुर्सदको समय बिताउन पुग्थे।

नयाँ वर्ष, दशैँ, तिहारलगायत चाडपर्वका बेला आन्तरिक पर्यटकको समेत घुइँचो लाग्ने ताल अहिले भने सुनसानजस्तै बनेको छ। पर्यटकलाई आकर्षित गर्न निर्माण गरिएका संरचना जीर्ण बन्दै गएका छन् भने तालको अधिकांश भाग जलकुम्भीले ढाकिएको छ।

बरहवा ताललाई आकर्षक पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले गौर नगरपालिकाले विभिन्न समयमा पूर्वाधार निर्माण तथा सौन्दर्यीकरणका कार्यक्रम सञ्चालन गरेको थियो।

वि.सं. २०७१/०७२ तिर सहरी विकास मन्त्रालयको बजेट तथा स्थानीय विकास योजनाअन्तर्गत करिब ३ करोड रुपैयाँको लागतमा नेपाली सेनाको प्राविधिक सहयोग र प्रत्यक्ष श्रम परिचालनमार्फत तालको बृहत् सौन्दर्यीकरण गरिएको थियो।

त्यसक्रममा तालको सरसफाइ, जलकुम्भी हटाउने, तारबार तथा फलामे रेलिङ निर्माण, बोटिङ सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गर्ने, पर्यटकका लागि विश्रामस्थल र बस्ने कुर्सीलगायतका संरचना निर्माण गरिएका थिए।

त्यसपछि सघन सहरी विकास कार्यक्रमअन्तर्गत आश्रय निर्माण सेवा प्रालिले बहुवर्षीय योजनामार्फत ताल क्षेत्रमा थप पूर्वाधार निर्माणको जिम्मेवारी पाएको थियो। उक्त योजनामा पक्की पदमार्ग, घाट व्यवस्थापन, ढल निकास तथा अन्य भौतिक संरचना निर्माण समेटिएका थिए।

यी योजनाबाट बरहवा ताललाई व्यवस्थित र आधुनिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अपेक्षा गरिएको थियो। तर, निर्माण गरिएका संरचनाको दीर्घकालीन संरक्षण र व्यवस्थापन प्रभावकारी हुन नसक्दा लगानीको प्रतिफलमाथि नै प्रश्न उठ्न थालेको छ।

करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएका अधिकांश संरचना अहिले संरक्षण अभावमा जीर्ण बन्दै गएका छन्। नेपाली सेनाले निर्माण गरेका बोटिङ स्थल, पिकनिक स्पट, घाट, विश्रामस्थल, विद्युतीकरणका पोल तथा अन्य पर्यटकीय संरचनाहरू आवश्यक मर्मतसम्भार र रेखदेख नहुँदा प्रयोगविहीन अवस्थामा पुगेका छन्।

तालको अधिकांश भाग जलकुम्भीले ढाकिएको छ। आसपासका क्षेत्रमा बनझारी, झारपात र फोहोर थुप्रिएका छन्। पदमार्गमा समेत झारपात उम्रिएका कारण कतिपय ठाउँमा आवतजावत गर्न असहज बनेको स्थानीयवासी बताउँछन्।

पर्यटकका लागि निर्माण गरिएका प्रतीक्षालय, कुर्सी, शौचालय, खानेपानी तथा क्यान्टिनका संरचनासमेत प्रयोगविहीन बन्दै गएका छन्। नियमित सरसफाइ र मर्मतसम्भार नहुँदा पर्यटकलाई आकर्षित गर्न बनाइएका पूर्वाधार नै अहिले बेवास्ताको सिकार भएका छन्।

स्थानीयवासीका अनुसार नेपाली सेना र गौर नगरपालिकाको संयुक्त पहलमा बेलाबेला जलकुम्भी हटाउने तथा सरसफाइ अभियान सञ्चालन हुँदै आएको छ। तर, त्यस्ता अभियानले दीर्घकालीन समाधान दिन सकेका छैनन्।

नियमित सरसफाइ, सुरक्षा व्यवस्था तथा प्रभावकारी व्यवस्थापनको अभावमा जलकुम्भी र झारपात पुनः फैलिने गरेको उनीहरूको भनाइ छ।

स्थानीयवासीले तालको संरक्षणका लागि स्थायी योजना बनाउनुपर्ने, नियमित सरसफाइ गर्नुपर्ने तथा निर्माण गरिएका संरचनाको मर्मतसम्भार र अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने माग गर्दै आएका छन्।

बरहवा ताल केवल एउटा पोखरी मात्र होइन, गौरको इतिहास, पहिचान र पर्यटकीय सम्भावनासँग जोडिएको सम्पदा हो। यसको संरक्षण र व्यवस्थित विकासले स्थानीयवासीलाई मनोरञ्जनको सुविधा दिनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउन सक्छ।

तर, संरक्षणको अभावमा तालको प्राकृतिक सौन्दर्य खस्किँदै गएको छ। करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएका संरचनाको अवस्था बिग्रँदै जाँदा विगतमा गरिएको लगानीको उपयोगितामाथि पनि प्रश्न उठेको छ।

स्थानीयवासी तथा सरोकारवालाहरूले बरहवा तालको तत्काल सरसफाइ, जीर्ण संरचनाको मर्मतसम्भार र दीर्घकालीन व्यवस्थापनका लागि सम्बन्धित निकायले विशेष योजना ल्याउनुपर्ने माग गरेका छन्।

तालको संरक्षण, नियमित रेखदेख तथा व्यवस्थापनका लागि प्रभावकारी पहल हुन नसके गौरको गौरवका रूपमा चिनिएको ऐतिहासिक तथा पर्यटकीय सम्पदा आफ्नो पुरानो स्वरूप र पहिचान गुमाउँदै जाने चिन्ता स्थानीयवासीको छ।

सम्बन्धित पोस्टहरुः