पोखरिया ,असोज ७ –
पर्साको पोखरिया नगरपालिका–८, जगतपुरमा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा २ सय २८ जनाको आँखा जाँच गरिएको छ।
तिलगंगा हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा बुधबार सम्पन्न शिविरमा परीक्षण गरिएका मध्ये ५७ जनामा मोतियाबिन्दु देखिएको आयोजकले जनाएको छ। उनीहरूको निःशुल्क शल्यक्रिया गरिनेछ।
लायन्स क्लब अफ वीरगञ्ज सुप्रिम, लायन्स क्लब अफ पोखरिया, लायन्स क्लब अफ वीरगंज तथा श्रीटैरीमाई युवा क्लब जगतपुर–मननपुरको सहकार्यमा शिविर आयोजना गरिएको हो। आयोजकले स्थानीयलाई घरआँगनमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।








