वीरगंज ७ असोज । जिल्ला प्रशासन कार्यालय पर्साले बुधवार विज्ञप्ति जारी गर्दै पर्सावासीलाई सतर्क रहन आग्रह गरेको छ ।
मौसम विभागको विशेष मौसम बुलेटिनलाई उद्धृत गर्दै जिप्रका पर्साले जारी गरेको विज्ञप्ति अनुसार आगामी असोज ९ गते शुक्रवारदेखि असोज ११ गते आइतवारसम्म देशका केही स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षा तथा एक–दुर्ई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
यसको प्रभावका कारण मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा बुधवारदेखि नै मध्यमसम्मको वर्षाको सम्भावना रहेको जिल्ला प्रशासनको विज्ञप्तीमा उल्लेख छ । भारी वर्षाका कारण विशेषगरी खोला तथा नदी आसपासका बस्तीमा जोखिम बढ्न सक्ने बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा नागरिकलाई अत्यन्त जरूरी नभएसम्म रातको समयमा यात्रा नगर्न, खोला तथा नदीको तटीय क्षेत्रमा बसोबास गर्नेले उच्च सतर्कता अपनाउन र आकस्मिक बाढी आउन सक्ने खोला, खहरे तथा पहिरो जोखिमयुक्त स्थानबाट टाढा रहन आग्रह गरेको छ ।
प्रशासनले वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ११४९, नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बलको १११४ मा सम्पर्क गर्न समेत अनुरोध पनि गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले नेपाल मौसम विज्ञान विभागबाट जारी हुने अद्यावधिक पूर्वानुमान, पूर्वसूचना तथा चेतावनीसम्बन्धी जानकारी नियमित रूपमा लिन पनि सर्वसाधारणलाई आग्रह गरेको छ ।








