पर्सा , असोज २० –
दशैंको रौनक गाउँघरमा छाउन थालेसँगै पर्साका ग्रामीण क्षेत्रमा मूर्तिकारहरूको व्यस्तता बढेको छ। विजयादशमीका अवसरमा स्थापना गरिने दुर्गा भगवतीसहित विभिन्न देवीदेवताका मूर्ति बनाउन उनीहरूलाई भ्याइनभ्याइ भएको हो।
पर्सागढी नगरपालिकाका विभिन्न वडामा अहिले कतै माटो मुछ्ने, कतै मूर्तिको स्वरूप बनाउने तथा कतै रङरोगन र सजावटको काम भइरहेको छ। माटो, पराल, बाँस र रङको प्रयोग गर्दै मूर्तिकारहरू बिहानदेखि साँझ अबेरसम्म काममा खटिएका छन्।
सप्तरीबाट आएका मूर्तिकार उपेन्द्र खाँले जितिया पर्वका लागि मूर्ति निर्माण सम्पन्न गरेलगत्तै पर्सागढी–३ बडनिहार, हरदासपुरलगायत तीन स्थानमा दुर्गा भगवतीको मूर्ति बनाउने जिम्मेवारी पाएका छन्। छोटो समयमै धेरै मूर्ति तयार गर्नुपर्ने भएकाले उनलाई एक ठाउँको काम सकिएलगत्तै अर्को ठाउँ पुग्नुपर्ने अवस्था छ।
“दशैंको सिजनमा कामको चाप निकै हुन्छ। एउटा ठाउँको काम सकिनासाथ अर्को ठाउँमा पुग्नुपर्छ,” खाँले भने, “यसपालि दशैंको सिजनमा मूर्ति निर्माणबाट मात्रै करिब दुईदेखि तीन लाख रुपैयाँ आम्दानी हुने अपेक्षा छ।”
पर्साको ग्रामीण क्षेत्रमा दुर्गा भगवतीसँगै लक्ष्मी, सरस्वती, गणेश, शिव–पार्वतीलगायत देवीदेवताका मूर्ति पनि निर्माण भइरहेका छन्। मूर्ति बनाउन सुरुमा बाँस र परालबाट आधार तयार गरी त्यसमा माटोको तह चढाइन्छ। त्यसपछि देवीदेवताको स्वरूप दिइन्छ र सुकिसकेपछि रङरोगन तथा अन्तिम सजावट गरिन्छ।
मूर्तिकारहरूले धार्मिक मान्यता र परम्परालाई ध्यानमा राख्दै मूर्तिको अनुहार, आँखा, हातमा रहने अस्त्रशस्त्र, मुकुट, पहिरन तथा आभूषणमा विशेष सावधानी अपनाउने गरेका छन्।
यस वर्ष घटस्थापना असोज २५ गतेदेखि सुरु हुने भएकाले त्यसअघि नै मूर्ति निर्माण सम्पन्न गर्नुपर्ने दबाब मूर्तिकारहरूमा छ। समय कम भएकाले कतिपय मूर्तिकार एकैदिन दुई–तीन स्थानमा पुगेर काम गरिरहेका छन्। स्थानीय युवाहरूले समेत माटो तयार पार्ने, मूर्ति सुकाउने र सजावटका सामग्री जुटाउने काममा सहयोग गरिरहेका छन्।
ग्रामीण क्षेत्रमा दुर्गा पूजा धार्मिक आस्थासँगै स्थानीय अर्थतन्त्र चलायमान बनाउने माध्यमसमेत बनेको छ। मूर्तिकारसँगै पण्डाल निर्माण, रङरोगन, विद्युत् सजावट तथा पूजा सामग्री बिक्री गर्ने व्यवसायीहरूका लागि दशैंको मौसम आम्दानीको महत्वपूर्ण समय बन्ने गरेको छ।
माटोको थुप्रोबाट सुरु भएको मूर्तिकारको मेहनत केही दिनमै देवीदेवताको आकर्षक स्वरूपमा परिणत हुन्छ। त्यसपछि त्यही मूर्ति गाउँको पूजास्थलमा स्थापना भएर भक्तजनको आस्थाको केन्द्र बन्छ। पर्साका ग्रामीण क्षेत्रमा माटोमा आकार लिइरहेका देवीदेवताका मूर्तिले दशैंको आगमनको संकेत दिइरहेका छन् भने तिनको पछाडि मूर्तिकारको कला, मेहनत र वर्षभरिको जीविकाको कथा पनि जोडिएको छ।
साभार //प्रतिक दैनिक






