पर्सा , असोज २९ –
नेपालमा भदौ महिनामा २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउनको तुलनामा भदौमा रेमिटेन्स १५ अर्ब रुपैयाँभन्दा बढीले बढेको हो।
गत वर्षको भदौमा १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको थियो। यस वर्ष चाडपर्वको समयमा रेमिटेन्स बढ्नुका साथै अमेरिकी डलरको मूल्यमा भएको वृद्धिले पनि रकम बढ्न सहयोग गरेको जनाइएको छ।
चालु आर्थिक वर्ष २०८३/८४ को साउन र भदौमा कुल ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा २३.९ प्रतिशत बढी हो।
यस अवधिमा १ लाख ३० हजार ४८३ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। गत वर्षको पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या १ लाख ३६ हजार रहेको थियो।







