काठमाडौं,२९ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले दुई तिहाइ बहुमत प्राप्त हुँदैमा सरकारले गर्ने सबै निर्णय सही नहुने बताएका छन् ।
राजदूत नियुक्तिजस्तो संवेदनशील विषयमा सरकारले गरेको सिफारिसमाथि संसदीय सुनुवाइ समितिले प्रश्न उठाउनु र आवश्यक परे रोक लगाउनु लोकतान्त्रिक अभ्यास भएको उनको भनाइ छ ।
सिंहले लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित रहने उल्लेख गर्दै बहुमतका आधारमा सरकारले गरेका सबै निर्णयलाई सही मान्न नसकिने बताएका हुन् ।
‘दुई तिहाइको बहुमत हुँदैमा सरकारका हरेक निर्णय सही हुन्छन् भन्ने छैन । लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित हुन्छ,’ उनले भनेका छन् ।
उनले लोकतन्त्रमा बहुमतको शासन महत्वपूर्ण भए पनि बहुमतलाई समेत जवाफदेही बनाउने व्यवस्था आवश्यक रहेको बताएका छन् । सरकारका निर्णयमाथि संसदीय समितिले निगरानी राख्नु लोकतान्त्रिक प्रणालीको महत्वपूर्ण पक्ष भएको उनको भनाइ छ ।
‘यही हो लोकतन्त्रको सुन्दरता, यही हो संसदीय समितिको गरिमा,’ सिंहले भनेका छन् ।
राजदूत नियुक्तिका लागि सरकारले गरेको सिफारिसमाथि संसदीय सुनुवाइ समितिले गर्ने निगरानीलाई उनले सरकारलाई जवाफदेही बनाउने र विधि तथा पद्धतिको रक्षा गर्ने महत्वपूर्ण अभ्यासका रूपमा व्याख्या गरेका छन् ।







