वीरगंज । नेपालमा राजस्व चुहावट गरेको भन्दै विवादमा तानिएका अटोमोबाईल्स कम्पनीहरू र आधिकारिक बिक्रेताहरूबाट उपभोक्ताहरू पनि ठगीने गरेको गुनासो बढेको छ ।
चाडपर्वको अवसरमा उपभोक्ताले साना र हलुका सवारी साधनहरू पनि बढी खरिद गर्ने भएकोले विभिन्न छुट अफर र एक्चेञ्जको नाममा बिक्रेताहरूले उपभोत्तालाई ठगी गर्ने गरेको गुनासो बढेको हो ।
विशेषगरी मोटरसाईकल कम्पनी र बिक्रेताहरूबाट मोटरसाईकल खरिद गर्ने उपभोत्ताहरू ठगीने गरेका छन् । छुट र एक्चेञ्ज अफरको प्रचार गर्ने र मोटरसाईकल खरिद गरेपछि त्यसको केही पार्टपुर्जाहरू कम्पनीले नदिने भन्दै छुट्टै खरिद गर्नुपर्ने बाध्यात्मक अवस्था बिक्रेताहरूले सृजना गर्ने गरेको उपभोत्ताहरूको गुनासो छ।
संघीय सरकारको अनुगमन गर्ने निकाय वाणिज्य तथा उपभोत्ता हित संरक्षण कार्यालयको भएपनि अहिले चाडपर्वमा खाद्यवस्तुहरूको अनुगमनमा मात्रै केन्द्रीत हुँदा अटोमोबाईल्स कम्पनी र बिक्रेताहरूले खुलेआम उपभोत्तालाई ठगी रहेका छन् ।
मोटरसाईकल खरिद गर्न जाने उपभोत्ताहरूलाई वस्तु छनौटको अधिकार भएपनि मोटरसाईकलमै आउने पाटपूर्जाहरूको पनि उपभोत्ताले छुट्टै मूल्य तिर्न बाध्य छन् ।
बिक्रेताहरूले कम्पनीले नै बिक्रेतालाई नदिने भन्दै मोटरसाईकलको लेगगार्ड समेत उपभोत्तालाई छुट्टै किन्न लगाउँने गरेका छन् । उपभोत्ताले बिक्रेताको शोरूमबाट लेगगार्ड खरिद नगरेर बाहिर खरिद गर्छु भन्दापनि फाईनान्सर र इनस्योरेन्सको बाहानाले उपभोत्तालाई शोरूममै मोटरसाईकलको लेगगार्ड खरिद गर्न बाध्य पार्ने गरेको एक ग्राहकले बताए ।
पहिले मोटरसाईकलको मूल्य भन्ने त्यसपछि सेवा शुल्क, नामसारी लगायतका नाममा शुल्कहरू थप्दै मोटरसाईकलको लागत मूल्य बढाउने गरेको ग्राहकको गुनासो छ ।
बाणिज्य तथा उपभोत्ता हित संरक्षण कार्यालयले अटोमोबाईल्स क्षेत्रमा अनुगमन नै गर्न भ्याएको छैन । दशैंमा खाद्यवस्तुहरूकै अनुगमनमा बढी व्यस्त हुने भएको र अहिले कपडा पसलहरूको समेत अनुगमन भईरहेकोले दशैंपछाडि भने अटोमोबाईलक्षेत्रको अनुगमन गर्ने बाणिज्य तथा उपभोत्ता हित संरक्षण कार्यालय वीरगंजका प्रमुख सुनिल चौरसियाले बताए ।
अटोमोबाईल्समा आयात बिन्दुदेखि नै राजस्व छलि मात्रै होईन लागत मूल्य र अतिरिक्त मूल्यहरू जोड्दै उपभोत्ता ठग्ने गरेपनि त्यस्ता कम्पनीहरू अझै कारबाईको दायरामा नआएको उपभोत्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष अजय अधिकारी बताउछन् ।
ठूला आयातकर्ताहरू राज्यको अर्थतन्त्र सञ्चालनमै प्रभाव पार्नसक्ने खालका शक्तिशाली हुने र उनीहरूका डिलर बिक्रेताहरू पनि आयातकर्ताहरूकै शर्त र निर्देशन अनुसार कमिसनको आधारमा व्यावसाय गर्ने भएकोले उनीहरूले पनि कम्पनीको नाम देखाएर पन्छिने गरेका छन् ।






