पेसा , कार्तिक ११ —
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण बढ्दै गएका प्राकृतिक विपद्को सामना गर्न क्षेत्रीय सहकार्य, आधुनिक प्रविधि र तथ्याङ्क आदानप्रदानलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन्।
थाइल्याण्डको बैंककमा संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (यूएन इस्क्याप) द्वारा आयोजित पाँचौँ मन्त्रीस्तरीय सम्मेलनलाई बुधबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले हिमाली क्षेत्रमा बढ्दो विपद् जोखिम न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधिको उपयोग आवश्यक रहेको बताएका हुन्।
उनले लाङटाङ लिरुङ, भोटेकोशी–त्रिशूली र बुढीगण्डकी क्षेत्रमा भएका विपद्का घटनाहरू उल्लेख गर्दै हिमपहिरो, बाढी र पहिरोले जनजीवनसँगै जलविद्युत् आयोजनाहरूमा समेत गम्भीर असर पुर्याएको बताए।
मन्त्री श्रेष्ठका अनुसार विपद्बाट भएको क्षतिको प्रारम्भिक आकलन करिब २ अर्ब ७० करोड अमेरिकी डलर रहेको छ भने पुनःनिर्माण तथा पुनःस्थापनाका लागि करिब ४ अर्ब ८० करोड डलर आवश्यक पर्ने अनुमान गरिएको छ।
उनले उपग्रहबाट प्राप्त तथ्याङ्क, कृत्रिम बुद्धिमत्ता र पूर्वसूचना प्रणालीको प्रयोग विस्तार गर्दै हिमाली तथा तटीय क्षेत्रका जोखिम न्यूनीकरणमा संयुक्त प्रयास गर्न आह्वान गरे।
नेपालले सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्ने प्रतिबद्धता दोहोर्याउँदै मन्त्री श्रेष्ठले स्वच्छ ऊर्जा र जलवायु अनुकूल विकासलाई प्राथमिकता दिइने बताए।
सम्मेलनकै अवसरमा बिहीबार नेपाल र यूएन इस्क्यापको संयुक्त आयोजनामा ‘सगरमाथादेखि सागरसम्म’ विषयक क्षेत्रीय संवाद आयोजना हुने जानकारीसमेत उनले दिएका छन्।







