काठमाडौं , कार्तिक ११ —
काठमाडौंको चन्द्रागिरि नगरपालिका–७, थानकोटबाट ६८ किलो २४४ ग्राम चाँदीसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित रक्सौलका १९ वर्षीय अमन सर्राफ रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भन्सार छली तथा चोरी पैठारी गरी चाँदीका तयारी गरगहना ल्याएको सूचनाका आधारमा सर्राफको कोठामा छापा मारेको थियो।
खानतलासीका क्रममा ठूलो परिमाणमा चाँदीका गरगहना बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेका सर्राफलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ।






