वीरगंज भन्सारले असोजमा लक्ष्यभन्दा बढी राजस्व संकलन गर्‍यो

1200x150_1200x150-01.jpg (1)

वीरगंज , कार्तिक ११ —

वीरगंज भन्सार कार्यालयले गत असोज महिनामा निर्धारित लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले असोजमा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन गरेको हो।

भन्सार विभागले असोज महिनाका लागि २६ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो। कार्यालयले निर्धारित लक्ष्यभन्दा २६ करोड ५८ लाख रुपैयाँ बढी राजस्व उठाएको हो।

प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार असोजमा इन्धन आयातबाट मात्रै दुई अर्ब २९ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ।

त्यस्तै खाना पकाउने एलपी ग्यास आयातबाट एक अर्ब ८० करोड, अलकत्रा (बिटुमिन) आयातबाट एक अर्ब ४० करोड तथा स्याउ र नास्पाती आयातबाट ५० करोड रुपैयाँ राजस्व संकलन भएको छ।

कार्यालयका अनुसार असोज मसान्तसम्म ७० अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ६९ अर्ब १३ करोड रुपैयाँ संकलन भएको छ। यो कुल लक्ष्यभन्दा एक अर्ब ४३ करोड रुपैयाँ कम हो।

चाडपर्वका बेला आयातमा भएको वृद्धिले असोज महिनाको राजस्व संकलनमा सकारात्मक प्रभाव पारेको कार्यालयले जनाएको छ।

सम्बन्धित पोस्टहरुः