जीतपुरसिमरा नगर अस्पतालको नयाँ भवनबाट ओपीडी सेवा सुरु

1200x150_1200x150-01.jpg (1)

बारा , कार्तिक १७ —

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२, सिमरास्थित जीतपुरसिमरा नगर अस्पतालको नवनिर्मित चारतले भवनबाट सोमबारदेखि बहिरङ्ग (ओपीडी) सेवा सुरु भएको छ । अस्पतालले विशेषज्ञ चिकित्सकसहित ३५ जना नयाँ स्वास्थ्यकर्मी थपेर सेवा विस्तार गरेको हो ।

उपमहानगरपालिकाले अस्पताललाई व्यवस्थित र सुविधासम्पन्न बनाउने उद्देश्यले नयाँ भवन निर्माण गरेको हो । अस्पतालमा एक जना सर्जन, एक जना बालरोग विशेषज्ञ र पाँच जना मेडिकल अधिकृतसहित ३५ जना स्वास्थ्यकर्मी नियुक्त गरी परिचालन गरिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवनीत रौनियारका अनुसार नयाँ भवनको भुइँतला मात्रै तयार भएकाले तत्काल ओपीडी सेवा सुरु गरिएको हो । पुरानो भवनमा बिरामीको चाप बढेको र नयाँ नियुक्त विशेषज्ञ चिकित्सकका लागि कोठा अभाव भएपछि नयाँ भवनबाट सेवा सञ्चालन गरिएको उनले बताए । भवनबाट सेवा सुरु भए पनि औपचारिक उद्घाटन भने भइनसकेको उनले स्पष्ट पारे ।

अस्पतालमा दन्त सेवा, बालरोग विशेषज्ञ सेवा, फिजियोथेरापी तथा प्रयोगशालामा एनालाइजर प्रविधिसहितका सेवा विस्तार गरिएको छ । हाड तथा जोर्नीरोग विशेषज्ञका रूपमा कार्यरत डा. रौनियारले अस्पतालमै दर्जनौँ शल्यक्रिया सफलतापूर्वक गरिसकेको जनाइएको छ ।

हाड तथा जोर्नीसम्बन्धी उपचार र शल्यक्रिया स्थानीयस्तरमै उपलब्ध हुन थालेपछि बिरामीले उपचारका लागि वीरगंज र भरतपुर धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

यसैबीच, उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रविकुमार भास्करले नवनियुक्त स्वास्थ्यकर्मीलाई अस्पतालका कमीकमजोरी पहिचान गरी सेवा सुधारमा सक्रिय हुन आग्रह गरेका छन् ।

भर्खरै

सम्बन्धित पोस्टहरुः