पत्रकारलाई धम्की दिएको वडाध्यक्ष साहको अभिव्यक्तप्रति प्रेस चौतारीको आपत्ति

1200x150_1200x150-01.jpg (1)

वीरगंज, कार्तिक १७ –

पोखरिया नगरपालिका–४ का वडाध्यक्ष लक्ष्मण साह कानूले पत्रकार शैलेश साह कानूलाई सार्वजनिक मञ्चबाटै गालीगलौज गर्दै कुटपिटको धम्की दिएको आरोपप्रति प्रेस चौतारी नेपाल, पर्सा शाखाले आपत्ति जनाएको छ ।

प्रेस चौतारी पर्साका अध्यक्ष निरञ्जन मिश्रद्वारा जारी विज्ञप्तिमा गत शुक्रबार कार्तिक १३ गते पोखरिया नगरपालिकाको ११औँ नगरसभाको खुला मञ्चमा वडाध्यक्ष साहले पत्रकारमाथि दुर्व्यवहार गरेको उल्लेख छ ।

पोखरिया नगरपालिका–४, सतवरियास्थित श्री नेपाल राष्ट्रिय कन्या माध्यमिक विद्यालयको कर्मचारी नियुक्ति तथा व्यवस्थापनसम्बन्धी विषयमा समाचार प्रकाशन गरेको भन्दै वडाध्यक्षले सार्वजनिक कार्यक्रममा गालीगलौज गर्नुका साथै कुटपिटको धम्की दिएको विज्ञप्तिमा जनाइएको छ ।

पत्रकार शैलेश साह कानू प्रेस चौतारी नेपाल, पर्सा शाखाका सदस्य तथा ‘फेमस नेपाल सन्देश’ पत्रिकाका प्रकाशकसमेत हुन् ।

प्रेस चौतारीले सार्वजनिक सरोकारका विषयमा समाचार सम्प्रेषण गर्नु पत्रकारको व्यावसायिक धर्म र संवैधानिक अधिकार भएको उल्लेख गर्दै समाचारप्रति असहमति भए खण्डन वा कानुनी उपचारको बाटो अपनाउनुपर्ने जनाएको छ । सार्वजनिक मञ्चबाट धम्की दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मान्यताविपरीत रहेको विज्ञप्तिमा उल्लेख छ ।

शाखाले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, पत्रकार साहको सुरक्षाको प्रत्याभूति गर्न तथा घटनामा संलग्न वडाध्यक्षमाथि प्रचलित कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

साथै, पत्रकारलाई निर्भीक र स्वतन्त्र रूपमा समाचार सम्प्रेषण गर्ने वातावरण बनाउन सबै जनप्रतिनिधि तथा सरोकारवालासँग प्रेस चौतारी पर्साले आग्रह गरेको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः