लखिमपुर खिरी , कार्तिक १७ –
भारतको उत्तर प्रदेशस्थित गौरीफन्टा सीमा क्षेत्रमा नेपालतर्फ अवैध रूपमा लैजान खोजिएको २१५ थान कपडासहित दुई किशोर पक्राउ परेका छन् ।
सशस्त्र सीमा बल (एसएसबी) को ३९औँ वाहिनीअन्तर्गत गौरीफन्टा सीमा चौकीबाट खटिएको गस्ती टोलीले भारत–नेपाल सीमा क्षेत्रमा शंकास्पद अवस्थामा नीलो रङका बोरा बोकेका दुई किशोरलाई नियन्त्रणमा लिएको हो । बोराको तलासी गर्दा विभिन्न प्रकारका २१५ थान कपडा बरामद भएको एसएसबीले जनाएको छ ।
बरामद कपडामा ४९ थान गोलु लेडिज सुट, दुई थान प्रिमियम पश्मिना लेडिज सुट, १२ थान बालम साडी, आठ थान नितिन साडी, एक थान अन्नपूर्णा साडी, दुई थान गोगड साडी, ५८ थान सल, ३६ थान लेडिज सुट, ३५ थान न्यानो सुट र १२ थान अमृत सुट रहेका छन् ।
पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी जिल्लास्थित बनगाउँका १५ वर्षीय आदर्श र १४ वर्षीय सुगम रहेका छन् । दुवै किशोरलाई बरामद कपडासहित आवश्यक कानुनी कारबाहीका लागि गौरीफन्टा भन्सार कार्यालयको जिम्मा लगाइएको एसएसबीले जनाएको छ ।
घटनाबारे थप कानुनी प्रक्रिया अघि बढाइएको छ ।






