४ हजार करोड भारुमा बनेको ‘रामायण’का पाँच रोचक पक्ष

1200x150_1200x150-01.jpg (1)

काठमाडौं, कात्तिक २० –

भारतीय पौराणिक महाकाव्य रामायणमा आधारित बहुप्रतीक्षित फिल्म ‘रामायण : राइज अफ अ लेजेन्ड’ नोभेम्बर ५, २०२६ देखि विश्वभर प्रदर्शन हुँदैछ । नितेश तिवारीको निर्देशनमा बनेको यो फिल्म करिब ४ हजार करोड भारतीय रुपैयाँको लागतमा निर्माण गरिएको बताइएको छ ।

रणवीर कपुर, साई पल्लवी र यश मुख्य भूमिकामा रहेको फिल्म दुई भागमा निर्माण गरिएको छ । यसको दोस्रो भाग सन् २०२७ को दीपावलीमा प्रदर्शन गर्ने प्रारम्भिक योजना छ ।

फिल्मका पाँच रोचक पक्ष यस्ता छन् :

१. दुई भागमा रामायणको कथा

रामायणको विस्तृत कथालाई एउटै फिल्ममा समेट्न कठिन हुने भएकाले निर्माण पक्षले दुई भागमा प्रस्तुत गर्ने निर्णय गरेको हो । पहिलो भागमा रामको जीवन, वनवास, सीता हरण र राम–रावणबीचको द्वन्द्वको पृष्ठभूमि समेटिने अपेक्षा गरिएको छ ।

२. चर्चित कलाकारको मुख्य भूमिका

फिल्ममा रणवीर कपुरले राम, साई पल्लवीले सीता र यशले रावणको भूमिका निर्वाह गरेका छन् । त्यस्तै, सनी देओल हनुमान, रवि दुबे लक्ष्मण, अरुण गोविल राजा दशरथ र अनुपम खेर जटायुको स्वरमा देखिनेछन् ।

३. ह्यान्स जिम्मर र एआर रहमानको पहिलो सहकार्य

हलिउडका चर्चित संगीतकार ह्यान्स जिम्मर र भारतीय संगीतकार एआर रहमानले पहिलोपटक यस फिल्मका लागि सहकार्य गरेका छन् । जिम्मर ‘द लायन किङ’, ‘इनसेप्सन’ र ‘इन्टरस्टेलर’ जस्ता फिल्मको संगीतका लागि परिचित छन् भने रहमानले ‘स्लमडग मिलियनेयर’का लागि दुई ओस्कार अवार्ड जितेका छन् ।

४. निर्माणमा १० हजारभन्दा बढी व्यक्ति संलग्न

निर्माता नमित मल्होत्राका अनुसार फिल्म निर्माणमा विश्वभरका १० हजारभन्दा बढी मानिस संलग्न छन् । भिएफएक्स, सेट निर्माण, छायांकन, ध्वनि र पोस्ट प्रोडक्सनमा अन्तर्राष्ट्रिय प्राविधिक टोलीले काम गरेको छ । फिल्मलाई आईम्याक्सका लागि पनि छायांकन गरिएको छ ।

५. सीताको योद्धा अवतारले बढायो चर्चा

फिल्मको सार्वजनिक प्रचार सामग्रीमा साई पल्लवीलाई सीताको फरक स्वरूपमा प्रस्तुत गरिएको छ । अक्टोबर १७ मा सार्वजनिक भिडियोमा सीता राक्षसहरूसँग लडिरहेको दृश्य देखाइएको छ । त्यस्तै, यशको रावणलाई भगवान् शिवको विशाल मूर्तिअघि ताण्डव गरिरहेको शक्तिशाली स्वरूपमा देखाइएको छ ।

फिल्मको कथा तथा पटकथा श्रीधर राघवन र नितेश तिवारीले तयार पारेका हुन् । नमित मल्होत्राको प्राइम फोकस स्टुडियो र यशको मोन्स्टर माइन्ड क्रिएसन्सको सहकार्यमा फिल्म निर्माण भएको हो ।

भर्खरै

सम्बन्धित पोस्टहरुः