भारतीय विदेश सचिवको भ्रमणमा राजनीतिक भेटघाट शून्य, पुरानो परम्परा तोडियो

1200x150_1200x150-01.jpg (1)

पर्सा , कार्तिक २० –

भारतका विदेश सचिव विक्रम मिस्रीको दुईदिने नेपाल भ्रमणमा यसपटक कुनै पनि राजनीतिक दलका शीर्ष नेतासँग भेटघाटको कार्यक्रम राखिएको छैन । विगतमा भारतबाट उच्चस्तरीय भ्रमण हुँदा पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री तथा प्रमुख राजनीतिक दलका अध्यक्षहरूसँग भेटघाट गर्ने परम्परा रहँदै आएकोमा यसपटक त्यसलाई निरन्तरता दिइएको छैन ।

मिस्रीले भ्रमणका क्रममा प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्म भेटघाट गर्ने कार्यक्रम रहे पनि सत्तापक्ष र विपक्षी दलका नेतासँग भेट्ने तालिका बनाएका छैनन् । विगतमा भारतीय प्रतिनिधिमण्डल बसेकै होटलमा पुगेर राजनीतिक दलका शीर्ष नेताहरूले भेट्ने तथा भारतीय दूतावासले छुट्टै कार्यक्रम आयोजना गरेर सामूहिक भेटघाट गराउने गरेको थियो । यसपटक त्यस्ता कार्यक्रमसमेत राखिएका छैनन् ।

अन्तर्राष्ट्रिय मामिलाका जानकार विनोज बस्न्यातले यसलाई सकारात्मक सुरुवातका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार भारतले राजनीतिक दलहरूसँग अलग्गै सम्बन्ध विस्तार गर्नुभन्दा सरकारसँग प्रत्यक्ष सहकार्य गरेर अघि बढ्न चाहेको सन्देश दिएको छ । जीटुजी अर्थात् सरकार–सरकारबीचको सम्झौतामार्फत दुई देशको हितमा काम गर्न यस्तो शैली उपयुक्त हुने उनको भनाइ छ ।

तर, पूर्वराजदूत विजयकान्त कर्णले भने कूटनीतिक भ्रमणका क्रममा राजनीतिक दलका नेतासँग भेटघाट गर्दा सम्बन्ध थप सुदृढ हुने धारणा राखेका छन् । उनका अनुसार कूटनीतिज्ञले राजनीतिक दलका नेतासँग भेट्दा केही बिग्रिँदैन, बरु सम्बन्ध अझ राम्रो हुन सक्छ । यद्यपि, मिस्री दुई दिनका लागि मात्रै नेपाल आएकाले समय अभावका कारण भेटघाट नराखिएको हुन सक्ने उनको अनुमान छ ।

यसअघि भारतबाट उच्चस्तरीय भ्रमण हुँदा पाहुनाको सम्मानमा आयोजना गरिने रात्रिभोजमा पनि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिन्थ्यो । त्यस्तै, भारतीय दूतावासले आयोजना गर्ने कार्यक्रममा समेत नेताहरूबीच भेटघाट हुने गरेको थियो ।

भ्रमणको अन्तिम दिन विदेश सचिव मिस्रीले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्नुका साथै केही आन्तरिक छलफल गर्ने कार्यक्रम छ । त्यसपछि उनी भारत फर्किनेछन् ।

भर्खरै

सम्बन्धित पोस्टहरुः