काठमाडौं , कार्तिक २० –
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अनलाइनमार्फत सट्टेबाजी गराएको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, भोजपुर टाउन थाना घर भई काठमाडौं महानगरपालिका–१७ ठमेल बस्ने ३२ वर्षीय सोनुकुमार सिन्हा रहेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एनपीएलको तेस्रो संस्करणमा केही व्यक्तिले अनलाइनमार्फत सट्टेबाजी गर्ने तथा गराउने गरेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा सिन्हाले विभिन्न अनलाइन बेटिङ साइटमार्फत ८९ लाख ८१ हजार ७२९ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ ।
उनलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।






