पर्सा , कार्तिक २० –
नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेपछि उनले उक्त निर्णयविरुद्ध रिट निवेदन दिएका हुन् । सरकारले डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो ।
कार्कीले आफूलाई पदबाट हटाउनुअघि कुनै स्पष्टीकरण नसोधिएको र सुनुवाइको अवसरसमेत नदिइएको भन्दै सरकारको निर्णय गैरकानुनी रहेको दाबी गरेका छन् । उनको रिट सर्वोच्च अदालतमा दर्ता प्रक्रियामा रहेको छ ।
रिटमा प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ मा आईजीपीको सेवा अवधि, पदावधि तथा उमेरहद स्पष्ट व्यवस्था गरिएको अवस्थामा कुनै आधार र कारणबिना आफूलाई पदबाट हटाइएको उल्लेख छ ।
उनले आफूलाई पुनर्बहाली गर्न माग गर्दै सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्न पनि सर्वोच्च अदालतसँग माग गरेका छन् ।
यसैबीच, मन्त्रिपरिषद्को निर्णयअनुसार डा. मनोजकुमार केसीले बुधबारदेखि नै नेपाल प्रहरीको महानिरीक्षकको जिम्मेवारी सम्हालिसकेका छन् ।






