सिरहा , कार्तिक २० –
सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडकखण्डमा बिहीबार बिहान ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
चौहर्वाबाट सिरहातर्फ जाँदै गरेको नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ना.१ घ.५५३ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको स.९ प.७६५० नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार नामथर र ठेगाना नखुलेका दुई पुरुष गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि फरार भएका ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनामा संलग्न दुवै सवारीसाधन नियन्त्रणमा लिने प्रक्रिया अघि बढाइएको छ । मृतकको पहिचान खुल्न नसकेकाले आफन्तको खोजी तथा सनाखत गर्ने कार्यसमेत भइरहेको प्रहरीले जनाएको छ ।







