पर्सा , कार्तिक २१ –
यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज कागको पूजा गरी काग तिहार मनाइँदैछ। यमराजको दूत मानिने कागलाई मनपर्ने खानेकुरा दिएर पूजा गर्ने धार्मिक परम्परा छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार सूर्योदयकालमा त्रयोदशी तिथि परेकाले आज काग तिहार मनाउन लागिएको हो। यमदीप दान भने शुक्रबार बेलुका नै गरिएको थियो।
तिथि घटबढका कारण यस वर्ष कात्तिक २२ गते कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ। गाईपूजा कात्तिक २३ गते, गोवर्द्धन पूजा तथा म्हःपूजा कात्तिक २४ गते र भाइटीका कात्तिक २५ गते परेको समितिले जनाएको छ। भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा तोकिएको छ।
काग तिहारका अवसरमा काठमाडौंको कागेश्वरी महादेव मन्दिरलगायत विभिन्न स्थानमा कागको विशेष पूजा गरिन्छ। कागलाई दही–भातलगायत खानेकुरा खुवाउँदा यमराजसमक्ष शुभ समाचार पुग्ने धार्मिक विश्वास छ।







