सुन्तलाको प्रज्ञापनपत्रमा केरा भेटेपछि वीरगंज भन्सारको जाँचपासमाथि प्रश्न !

1200x150_1200x150-01.jpg (1)

वीरगंज , कार्तिक २१ —

सुन्तलाको भन्सार प्रज्ञापनपत्रका आधारमा ढुवानी भइरहेको भारतीय नम्बर प्लेटको ट्रकमा केरा समेत भेटिएपछि वीरगञ्ज भन्सारको जाँचपास प्रक्रियामाथि प्रश्न उठेको छ। घटनापछि सोही व्यवसायीको नाममा जाँचपास भएका थप दुई ट्रकलाई समेत नियन्त्रणमा लिएर जाँच भइरहेको छ।

वीरगञ्ज महानगरपालिका–२५ श्रीसियास्थित आरोही इन्टरप्राइजेजको नाममा जाँचपास भएको यूपी २५ एफटी ३६५९ नम्बरको ट्रकलाई प्रहरीले काठमाडौंको जडीबुटी क्षेत्रमा नियन्त्रणमा लिएको थियो। प्रारम्भिक विवरणअनुसार ट्रकमा ४०० क्यारेट सुन्तला र २०० क्यारेट केरा भेटिएको छ।

यसै प्रकरणमा एमएच ३० सीई ००८३ र यूके ०४ सीसी २८३१ नम्बरका थप दुई ट्रकमाथि पनि शंका उत्पन्न भएपछि वीरगञ्ज भन्सार परिसरमै राखेर जाँच भइरहेको छ।

वीरगञ्ज भन्सारका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले काठमाडौंमा एउटा ट्रकमा सुन्तलासँगै केरा भेटिएको घटनाबारे जानकारी सार्वजनिक भएपछि थप दुई ट्रक नियन्त्रणमा लिएर जाँच भइरहेको बताए।

उनले ती ट्रकको जाँच प्रतिवेदन आउन बाँकी रहेको र प्रतिवेदन प्राप्त भएपछि सोहीअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने बताए।

भन्सार ऐनविपरीत काम गरेको पुष्टि भए सम्बन्धित व्यक्तिलाई नियमअनुसार कारबाही गरिने बताउँदै लम्सालले भन्सार ऐनको परिधिभित्र रहेर काम गर्न निर्देशन दिइएको र नियमविपरीत काम गर्नेलाई कारबाही गर्न कार्यालय प्रतिबद्ध रहेको बताए।

यस घटनाले भन्सार प्रज्ञापनपत्रमा उल्लेखित वस्तु र वास्तविक ढुवानी सामग्रीबीच फरक कसरी भयो भन्ने प्रश्न उठाएको छ। थप दुई ट्रकको जाँच प्रतिवेदनपछि घटनाको वास्तविकता र सम्भावित राजस्व चुहावटबारे स्पष्ट हुने अपेक्षा गरिएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः