पर्सा , कार्तिक २१ —
बलिउड अभिनेता सलमान खानको मुख्य भूमिका रहेको चलचित्र ‘मातृभूमि’ को ट्रेलर सार्वजनिक कार्यक्रममा नेपाली अभिनेता अनुपविक्रम शाही पनि सहभागी भएका छन्। चलचित्रमा शाहीले खलनायकको भूमिका निर्वाह गरेका छन्।
आज आयोजित कार्यक्रममा सलमान खान, निर्देशक अपूर्व लाखियासहित चलचित्रका प्रमुख कलाकारहरूको उपस्थिति थियो। भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेका भिडियोमा शाही सलमानसँगै फोटोसेसनमा सहभागी भएको र उनीहरूबीच कुराकानी भएको देखिन्छ।
निर्देशक लाखियाले विश्वभरबाट सयौं कलाकारले दिएको अडिसनबाट शाहीलाई छनोट गरिएको जानकारी दिए। उनले शाही नेपाली कलाकार भएको र हालै काठमाडौंवाट आएको पनि बताए।
कार्यक्रममा शाहीले सलमानसँग काम गर्ने अवसर पाउनु आफ्नो लागि ठूलो उपलब्धि भएको बताउँदै आफू निकै उत्साहित र नर्भस रहेको प्रतिक्रिया दिए।
चलचित्रमा शाहीले चिनियाँ जनमुक्ति सेनाका मेजरको भूमिका निर्वाह गरेको बताइएको छ। सलमानसँग उनको १३ मिनेट लामो एक्सन दृश्य रहेको दाबीसमेत गरिएको छ। यद्यपि, चलचित्र प्रदर्शनपछि मात्रै उनको भूमिकाबारे विस्तृत जानकारी खुल्नेछ।






