बहुदरामाईमा विवाह दर्ताको सिफारिसमा २९ सय घुस लिएको आरोप, वडा सचिवद्वारा अस्वीकार

1200x150_1200x150-01.jpg (1)

पर्सा , कार्तिक २१ —

पर्साको बहुदरामाई नगरपालिका–६ गम्हरियामा विवाह दर्ताको प्रतिलिपि सिफारिस गरिदिने भन्दै वडा सचिवले सेवाग्राहीसँग २ हजार ९ सय रुपैयाँ घुस लिएको आरोप लागेको छ।

स्थानीय हविव मियाँ धुनियाले वडा सचिव लालबहादुर यादवले आफूबाट दुई पटक गरी उक्त रकम लिएको आरोप लगाएका छन्। उनका अनुसार पहिलो पटक ८ सय र दोस्रो पटक २ हजार १ सय रुपैयाँ लिइएको थियो। घटनाको निष्पक्ष छानबिन हुनुपर्ने उनले माग गरेका छन्।

यता, वडा अध्यक्ष प्रमोद प्रसादले घटनाबारे आफू जानकार रहेको बताउँदै वडा सचिवसँग बुझ्दा घुस लिएको कुरा अस्वीकार गरेको जानकारी दिए। पछिल्लो तीन महिनादेखि वडा सचिव कार्यालयमा कार्यरत रहेको उल्लेख गर्दै उनले सेवाग्राहीसँग घुस लिएको जानकारी आफूलाई नभएको बताए।

आरोपित वडा सचिव यादवले भने आफूविरुद्ध व्यक्तिगत रिसइबीका कारण चरित्र हत्या गर्ने प्रयास भएको दाबी गरेका छन्। उनले घुस लिएको प्रमाण भेटिए कानुनअनुसार सजाय भोग्न तयार रहेको बताउँदै आफूमाथि लगाइएको आरोप निराधार रहेको जिकिर गरे।

उनले छिमेकी वडाका एक अध्यक्षको उक्साहटमा आफूलाई बदनाम गर्न यस्तो आरोप लगाइएको दाबीसमेत गरेका छन्।

घटनाबारे सार्वजनिक रूपमा आरोप–प्रत्यारोप सुरु भएपछि स्थानीयले सत्यतथ्य छानबिन गरी दोषी देखिए कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः