वीरगंज, २१ कात्तिक । पर्साको जगरनाथपुर गाउँपालिकामा ‘जनतासँग संवाद, दिपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदान एवं पार्टी प्रवेश कार्यक्रम’ सम्पन्न भएको छ। जगरनाथपुर गाउँपालिका वडा नम्बर-३,खलुचडी निवासी साधुसन्त राउत गद्दीको अध्यक्षतामा उक्त विशेष कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा पर्सा-४ का सांसद टेकबहादुर शाक्य र विशिष्ट अतिथिको रूपमा निजामुदिन समानीको उपस्थिति रहेको थियो।
चाडपर्वको शुभकामना आदान–प्रदानसँगै आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेता तथा कार्यकर्ताहरू रास्वपा पार्टीमा प्रवेश गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी मुस्लिम संघका पर्सा जिल्ला अध्यक्ष नबिआलम राउत गद्दी आफ्नो पद र पार्टी परित्याग गरी प्रवेश गरेका छन्।
त्यसैगरी, नेकपा (एमाले) का तर्फबाट पूर्व गाउँपालिका एकाई अध्यक्ष तबरेज अन्सारी, एमालेका जिल्ला सदस्य जिलाजित राउत गद्दी र पूर्व बैंकर तथा समाजसेवी फिरोज अन्सारीसहित करिब ३०० जनाभन्दा बढी कार्यकर्ताहरू एमाले र जसपा नेपाल परित्याग गरी पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई प्रमुख अतिथि सांसद टेकबहादुर शाक्य लगायतका नेताहरूले अबिर र माला लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद टेकबहादुर शाक्यले ‘हाम्रो पार्टीमा भ्रष्टाचार र कमिसन्तन्त्र छैन, काम नगरे ५ वर्षपछि घण्टीमा भोट नदिनुस’ भनी बताए । उनले जनताको आफूहरू जनताको चेतना, माया र विश्वास जितेर राजनीतिमा आएको दाबी गरे ।
ठूला नेताहरू जस्तो चुनावमा करोडौँ खर्च गर्ने र चना–भुजा तथा दाल–भात खाएर घर–घर पुग्ने शैलीभन्दा फरक, जनताका असली समस्या समाधान गर्न आफूहरू प्रतिबद्ध रहेको उनले बताए । सम्बोधनका क्रममा उनले भने, हामी लाखौं र करोडौँको भारी बोकेर चुनाव लड्न आएका होइनौं । जनताको अनुहारमा खुसी देख्ने समयको पर्खाइमा छौँ ।
उनले सीमा (बोर्डर) क्षेत्रका समस्या, विकासका सुस्तता, शिक्षा, स्वास्थ्य चौकीको स्थिति, किसान, मजदुर, दलित तथा मुस्लिम समुदायका जल्दाबल्दा मुद्दाहरूलाई संसद् र केन्द्रसम्म सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाए।
आगामी ५ वर्षसम्म नेताहरूले सही ढङ्गले जनताको चौकीदारी र सेवा नगरेमा अर्काे पटक घण्टी छापमा भोट नदिन जनतालाई खुला आहवान गरे।
सांसद शाक्यले पार्टीमा कुनै पनि प्रकारको भ्रष्टाचार र कमिसन्तन्त्र नसहीने चेतावनी दिँदै, यदि कुनै जनप्रतिनिधि वा उम्मेदवार भ्रष्टाचारमा लिप्त भेटिएमा तुरून्तै जिम्मेवारीबाट फिर्ता (रिटर्न ब्याक) बोलाइने स्पष्ट पारे।
विगत ३६ वर्षदेखि कांग्रेस, एमाले र माओवादीजस्ता पुराना दलहरूले आलोपालो गरेर जनतालाई आश्वासन मात्र दिएको र वास्तविक परिवर्तन गरीब, दलित वा मुस्लिम बस्तीसम्म पुग्न नसकेको आरोप लगाए ।
कार्यक्रमको अन्त्यमा उनले बालबालिकाको सुनौलो भविष्य र समाजको रूपान्तरणका लागि एकजुट हुन आग्रह गर्दै व्यक्तिगत वा सामाजिक जुनसुकै समस्या समाधानका लागि आफूहरू सधैँ उपलब्ध रहने विश्वास दिलाए।

Views: 214