लक्ष्मीपूजामा विद्युत् माग व्यवस्थापन, ५८७ मेगावाट भारत निर्यात

1200x150_1200x150-01.jpg (1)

पर्सा , कार्तिक २२ –

प्राकृतिक विपद्का कारण विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा क्षति पुगे पनि नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजामा विद्युत्को उच्चतम माग सफलतापूर्वक व्यवस्थापन गरेको छ। आन्तरिक माग पूरा गरेर भारततर्फ समेत ५८७.३० मेगावाट विद्युत् निर्यात गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार आइतबार साँझ ६ः१५ बजे राष्ट्रिय प्रणालीको उच्चतम माग १ हजार ८१३ मेगावाट पुगेको थियो। उक्त समयमा प्रणालीको कुल पिक भार २ हजार ४००.३० मेगावाट रहे पनि विद्युत् आपूर्ति अवरोध शून्य मेगावाट थियो।

प्राकृतिक विपद्का कारण रसुवा क्षेत्रमा करिब ४५० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर रहेको अवस्थामा पनि माग व्यवस्थापन गरिएको हो। यस वर्षको उच्चतम माग गत वर्षको तुलनामा ६८ मेगावाट बढी हो। गत वर्ष लक्ष्मीपूजामा १ हजार ७४५ मेगावाट माग पुगेको थियो। त्यस्तै, काठमाडौं उपत्यकाको माग ४८९ मेगावाट पुगेको छ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले चुनौतीपूर्ण अवस्थामा पनि विद्युत् माग व्यवस्थापन गर्न सफल भएकोमा प्राधिकरणका कर्मचारी, व्यवस्थापन र उपभोक्तालाई धन्यवाद दिएका छन्। प्राधिकरणले सम्भावित प्राविधिक समस्या तत्काल समाधान गर्न देशभर प्राविधिक टोली र आवश्यक उपकरण तयारी अवस्थामा राखेको जनाएको छ।

सम्बन्धित पोस्टहरुः