वीरगंज, २२ कार्तिक –
आस्था, श्रद्धा र लोकसंस्कृतिको महापर्व छठको पावन अवसरमा नेपाल पोष्ट मिडिया प्रा.लि.ले आफ्नो दोस्रो छठ गीत ‘हमही लेके जाएम माई के बहंगिया’ सोमबार साँझ औपचारिक रूपमा सार्वजनिक गर्ने भएको छ।
छठ पर्वको धार्मिक तथा सामाजिक महिमालाई उजागर गर्दै तयार पारिएको यस गीतको सम्पूर्ण छायाङ्कन सम्पन्न भइसकेको छ। भिडियो निर्देशक सन्तोष साहका अनुसार छठको पवित्रता र भावनालाई जीवन्त रूपमा प्रस्तुत गर्न निकै मिहिनेतका साथ वीरगंज तथा यस आसपासका क्षेत्रहरूमा भिडियो छायाङ्कन गरिएको हो। छठको मौलिक परम्परा, पूजा विधिको पवित्रता र अस्ताउँदो तथा उदाउँदो सूर्यलाई दिइने अर्घ्यको आध्यात्मिक भावलाई दृश्यमा उतारिएकाले दर्शक तथा भक्तजनहरूका लागि यो गीत निकै प्रिय बन्ने विश्वास लिइएको निर्देशक साहले बताए ।
गीतकार तथा गायक पत्रकार मनोज पटेलका अनुसार यसअघि रिलिज गरिएको छठ गीत ‘हाली हाली उग हो सुरुज देव’ ले दर्शक तथा सङ्गीतप्रेमीहरूबाट व्यापक प्रशंसा र माया पाएको थियो। सोही सफलतापछि यस वर्षको दिपावली तथा छठ पर्वको शुभकामना स्वरूप लोक परम्परा, सांस्कृतिक महत्त्व र सामाजिक सद्भावलाई समेटेर नयाँ गीत ल्याउन लागिएको पत्रकार पटेलले बताए । गीतको भावको बारेमा जानकारी दिँदै गीतकार तथा गायक पत्रकार पटेलले भने, ‘यो गीतमा रोजगारीका लागि घरभन्दा बाहिर गएका श्रीमानलाई समयमै घर आएर छठ पुजामा सहभागी हुन अनुरोध गरिएको छ ।’
यस गीतमा मनोज पटेल र किरण राजको सुमधुर स्वर रहेको छ भने शब्द रचना मनोज पटेल र सङ्गीत मुन्ना मुस्कानको रहेको छ। भिडियोमा बबिता पटेल, पत्रकार विनोद पटेल, सन्ध्या साह, अमिता पटेल र मनोज पटेलको दमदार अभिनय देख्न सकिनेछ। कृष्णाको भिडियोग्राफी तथा जावेद हवारीको एडिटिङ र मिक्सिङ रहेको यो गीत सोमबार साँझ नेपाल पोष्ट डेलीको अफिसियल युटयुव च्यानलबाट सार्वजनिक हुनेछ।






