अमेरिका , कार्तिक २५ –
नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएका छन् ।
प्रिन्स विलियम काउन्टी अदालतमा मंगलबार भएको सुनुवाइपछि जुरीले नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीर विकृत बनाउने अभियोगमा दोषी ठहर गरेको हो । करिब पाँच घण्टाको छलफलपछि फैसला सुनाइएको थियो ।
फैसलापछि नरेशलाई सजाय निर्धारण नभएसम्म धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको छ । उनको सजाय आगामी सन् २०२७ मार्चमा निर्धारण हुने बताइएको छ ।
अभियोजन पक्षले अदालतमा करिब १०० जना साक्षी र झन्डै ५०० वटा प्रमाण प्रस्तुत गरेको थियो । सुनुवाइका क्रममा विषविज्ञान विशेषज्ञ, नरेशका पूर्वरूममेट तथा ममताका निकट साथीले बयान दिएका थिए । ममताकी साथी सुनिता बस्नेत थापाले ममता आत्महत्या गर्ने स्वभावकी नभएको र उनको अनुहारमा चोटसमेत देखेको बताएकी थिइन् ।
यता, नरेशले भने ममताले आत्महत्या गरेको दाबी गर्दै आएका थिए । प्रतिरक्षा पक्षले अभियोजनले आरोप पुष्टि गर्न नसकेको जिकिर गरेको थियो ।
ममता सन् २०२४ मा बेपत्ता भएपछि घटना सार्वजनिक भएको थियो । त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै नरेशमाथि पत्नीको हत्या गरी शव लुकाएको लगायतका अभियोग लगाएको थियो ।
फैसलापछि अभियोजनकर्ता एमी एशवर्थले ममताको परिवारले दुई वर्षभन्दा बढी समयदेखि भोग्दै आएको पीडा र अनिश्चितताबीच न्यायको महत्त्वपूर्ण प्रक्रिया पूरा भएको बताएकी छन् ।






