वीरगंज नाकाबाट खाद्यान्न आयात घट्यो, धान र मकैको आयातमा ठूलो गिरावट

1200x150_1200x150-01.jpg (1)

वीरगंज , कार्तिक २६ –

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वीरगंज नाका हुँदै हुने खाद्यान्न आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६३ प्रतिशतले घटेको छ।

वीरगंज भन्सार कार्यालयका अनुसार चालु आवको साउनदेखि असोजसम्म चामल, मकै, गहुँ, धान, माल्ट, फापर र कोदोलगायत गरी ३ करोड १६ लाख ४० हजार किलो खाद्यान्न आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा ८ करोड ७० लाख ४७ हजार किलो आयात भएको थियो।

भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार चामल आयात ९४ लाख १ हजार किलोबाट घटेर ६७ लाख ७३ हजार किलोमा झरेको छ। त्यस्तै, धान आयात ३ करोड ९१ लाख किलोबाट घटेर ६९ लाख ३५ हजार किलो र मकै आयात ३ करोड ३६ लाख किलोबाट घटेर ६७ लाख ३६ हजार किलोमा सीमित भएको छ।

आयातको मूल्यमा समेत कमी आएको छ। चामलको आयात मूल्य ८९ करोड ८१ लाखबाट घटेर ७० करोड रुपैयाँ, धानको १ अर्ब ४६ करोड २८ लाखबाट घटेर ३३ करोड ३५ लाख रुपैयाँ र मकैको १ अर्ब ८० करोड १३ लाखबाट घटेर ६० करोड ९८ लाख रुपैयाँमा झरेको छ।

त्यस्तै, फापर, कोदो तथा अन्य खाद्यान्नको आयात पनि २३ लाख ४१ हजार किलोबाट घटेर १६ लाख ४० हजार किलोमा सीमित भएको वीरगंज भन्सार कार्यालयले जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः