वीरगंज , कार्तिक २६ –
नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्ग्सका कप्तान सन्दीप लामिछानेले पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिएका छन्।
लामिछानेले ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिएका हुन्। उनले युवराज साम्रा, चमिका करुणारत्ने र किरण ठगुन्नालाई लगातार आउट गर्दै ह्याट्रिक पूरा गरे।
यससँगै सन्दीप एनपीएलमा ह्याट्रिक विकेट लिने तेस्रो बलर बनेका छन्। उनी एकै खेलमा ६ विकेट लिने पनि तेस्रो बलर बनेका छन्।
खेलमा पोखरा एभेन्जर्सले विराटनगरलाई १३३ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १७ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १३२ रन बनाएको थियो। पोखराका युवराज साम्राले सर्वाधिक ८४ रन बनाए।
५ खेलमा ४ अंक जोडेको विराटनगर तालिकाको छैटौँ स्थानमा छ भने २ अंकसहित पोखरा पुछारमा रहेको छ।
एनपीएलअन्तर्गत आजको दोस्रो खेलमा बेलुकी ५ बजे कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। लुम्बिनी ७ अंकसहित तेस्रो र कर्णाली ४ अंकसहित सातौँ स्थानमा छन्।






