पर्सा , कार्तिक २६ –
पर्साको कालिकामाई गाउँपालिका कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ। बुधबार कार्यालयको मुख्य गेट र विभिन्न शाखाका ताल्चा खोलेर स्वास्थ्य, जिन्सी तथा प्राविधिक शाखासहित भवनका अधिकांश भागमा मोबिल छर्केर आगजनी गरिएको हो।
बिहीबार बिहान करिब १०ः३० बजे जेसिबी चालकले आगजनी भएको थाहा पाएपछि गाउँपालिका अध्यक्ष वशिष्ठ कलवारलाई जानकारी गराएका थिए। घटनाको खबर फैलिएपछि ठूलो संख्यामा स्थानीयवासी गाउँपालिका कार्यालय पुगेका थिए।
अध्यक्ष कलवार घटनास्थल पुग्दा आक्रोशित स्थानीयले उनलाई घेराउ गर्दै नाराबाजी गरेका थिए। स्थानीयले अध्यक्ष र कर्मचारीको मिलेमतोमा प्रमाण नष्ट गर्ने उद्देश्यले योजनाबद्ध रूपमा आगजनी गरिएको हुन सक्ने आरोप लगाएका छन्। यद्यपि, यसबारे पुष्टि भएको छैन। स्थिति तनावपूर्ण बनेपछि प्रहरीले अध्यक्ष कलवारलाई उद्धार गरी सुरक्षा व्यवस्थासहित इलाका प्रहरी कार्यालय पोखरिया पुर्याएको थियो।
स्थानीयले पछिल्ला चार आर्थिक वर्षदेखि गाउँपालिकाको आन्तरिक लेखापरीक्षण तथा हरहिसाब सार्वजनिक नगरिएको भन्दै घटनाको निष्पक्ष छानबिन गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।
यता, इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले घटनास्थलको निरीक्षण गरी मुचुल्का तयार पारेको छ। आगजनी कसले र किन गर्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।







