पर्सा, कार्तिक २७ –
बारा र चितवनमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
बाराको कलैया उपमहानगरपालिका–२० बसन्तपुरमा बिहीबार दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा ३० वर्षीया शिवपुजनी देवीको मृत्यु भएको हो। बीआर ०५ एबी ७७५९ नम्बरको मोटरसाइकलले ३६ प १५३९ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा गम्भीर घाइते भएकी देवीको परवानीपुरस्थित एल.एस. न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। दुर्घटनामा अर्को मोटरसाइकलका चालकसहित तीन जना घाइते भएका छन्।
यस्तै, चितवनको भरतपुर महानगरपालिका–१६ फुर्तीचोकमा शुक्रबार बिहान ईभी कारको ठक्करबाट ३० वर्षीया पार्वती भुजेलको मृत्यु भएको छ। बा.प्र.०१–०३४ च ९२२१ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी भुजेललाई भरतपुर सरकारी अस्पतालले बिहान ९ बजेर ५४ मिनेटमा मृत घोषणा गरेको थियो। दुर्घटनामा अन्य दुई पैदलयात्री घाइते भएका छन्।
दुर्घटनामा संलग्न कार र चालक ३३ वर्षीय मनोज पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।






