पर्सा ,कार्तिक २८ –
नेपाल प्रिमियर लिग (एनपीएल) मा आज साविक विजेता लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल त्रिवि क्रिकेट रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ।
लुम्बिनी यसअघि नै प्लेअफमा पुगिसकेको छ। ६ खेलबाट ९ अंक जोडेको लुम्बिनी तालिकाको दोस्रो स्थानमा छ। ६ खेलमा ६ अंक रहेको विराटनगर भने पाँचौँ स्थानमा छ। प्लेअफ सम्भावना बलियो बनाउन विराटनगरलाई आजको खेल जित्नुपर्ने दबाब छ।
यसैबीच, हिजो चितवन राइनोजले जनकपुर बोल्ट्सलाई पराजित गर्दै प्लेअफ सम्भावना कायम राखेको छ। चितवनले अब कर्णाली याक्सलाई हराउनुपर्नेछ। जनकपुरसँगै कर्णाली र पोखरा एभेन्जर्स भने प्लेअफ दौडबाट बाहिरिएका छन्।
हिजै सुदूरपश्चिमले काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै लगातार तेस्रोपटक प्लेअफमा स्थान सुरक्षित गरेको छ। ७ खेलमा १० अंक जोडेको सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा छ।
यस संस्करणका पछिल्ला खेलमा कम योगफल बनिरहेको छ। ब्याटरहरूलाई पिचमा रन बनाउन कठिन भइरहँदा बलरहरू हाबी देखिएका छन्।






