असम , कार्तिक २८ –
भारतको असमस्थित काजिरंगामा मिनी बस र कन्टेनर ट्रक एकआपसमा ठोक्किँदा २६ जनाको मृत्यु भएको छ। शुक्रबार भएको दुर्घटनामा महिला तथा बालबालिकासमेत परेका छन्।
प्रहरीका अनुसार बोकाखाटबाट नगाउँतर्फ जाँदै गरेको तीव्र गतिमा रहेको मिनी बस चालकले नियन्त्रण गुमाउँदा विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको थियो। दुर्घटनामा बस क्षतिग्रस्त हुँदा यात्रुहरू भित्रै फसेका थिए। उद्धार टोलीले बस काटेर शव बाहिर निकालेको थियो।
घाइतेहरूलाई कोहोरा मोडल अस्पतालमा उपचारका लागि लगिएको छ भने गम्भीर घाइतेलाई जोरहाट मेडिकल कलेज रिफर गरिएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेको सवारीसाधनले यसअघि १२ पटक ट्राफिक नियम उल्लङ्घन गरेको थियो। त्यसबापत ३८ हजार ५ सय भारु जरिवाना तिरिएको र ४ हजार भारुको जरिवाना बाँकी रहेको जनाइएको छ।
घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै मृतकका परिवारलाई दुई–दुई लाख र घाइतेलाई ५०–५० हजार भारु राहत दिने घोषणा गरेका छन्।
भारत सरकारको तथ्याङ्कअनुसार सन् २०२० देखि २०२४ सम्म असममा सडक दुर्घटनामा १५ हजार ३ सय ६ जनाको मृत्यु भएको थियो।






