घडिअर्वा छठघाटको तयारी पूरा,रु.२७ लाखको खर्च

1200x150_1200x150-01.jpg (1)

वीरगंज , कार्तिक २८ –

वीरगंजको ऐतिहासिक घडिअर्वा छठघाटमा छठ पर्वको सम्पूर्ण तयारी पूरा भएको छ। छठ पूजा व्यवस्थापन समितिले घाटको आकर्षक सजावट, आर्थिक व्यवस्थापनदेखि व्रतालु तथा दर्शनार्थीको सुरक्षासम्मका सम्पूर्ण तयारी सम्पन्न गरेको जनाएको छ।

छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश कुमार साहका अनुसार भारतको कोलकाताबाट आएका दक्ष कारीगरहरूको टोलीले घडिअर्वा छठघाटलाई विशेष ढंगले सजाएको छ। यस वर्ष छठघाटको सजावट तथा व्यवस्थापनलाई आकर्षक र व्यवस्थित बनाइएको समितिले जनाएको छ।

यसैबीच, समितिले आर्थिक वर्ष २०८३/०८४ का लागि तयार पारेको अनुमानित आय–व्यय विवरणसमेत सार्वजनिक गरेको छ। समितिका कोषाध्यक्ष कन्हैयालाल गुप्ताले सार्वजनिक गरेको विवरणअनुसार यस वर्ष छठ पूजा व्यवस्थापनका लागि कुल २७ लाख ६ हजार ४६० रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। त्यस्तै, विभिन्न व्यवस्थापन शीर्षकमा २६ लाख २१ हजार ५०० रुपैयाँ खर्च हुने र सम्पूर्ण खर्च कटाएर ८४ हजार ९६० रुपैयाँ बचत रहने अनुमान गरिएको उनले जानकारी दिए।

समितिले सार्वजनिक गरेको विवरणअनुसार टिकट बिक्री, विज्ञापन, व्यक्तिगत सहयोग तथा विभिन्न संघसंस्थाबाट प्राप्त हुने सहयोगलाई आम्दानीको मुख्य स्रोतका रूपमा समेटिएको छ। टिकट बिक्रीबाट मात्रै २० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।

त्यसैगरी, खर्चतर्फ टेन्ट तथा पण्डाल निर्माण, पोखरी परिसरको सजावट, विद्युत् तथा बत्ती व्यवस्थापन, ध्वनि प्रणाली, फूलमाला, कार्पेट, स्टेशनरी, अतिथि सत्कार, सरसफाइ, प्रचारप्रसार, पुरस्कार वितरण, सुरक्षा व्यवस्थापन, भिडिओग्राफी, घाट व्यवस्थापन, रक्तदान कार्यक्रम, सूर्य मन्दिरका लागि कपडा सिलाइ, जलाशय तथा पोखरीको सरसफाइ र इन्धनलगायतका विभिन्न शीर्षकमा बजेट विनियोजन गरिएको कोषाध्यक्ष गुप्ताले बताए।

यस वर्ष घडिअर्वा छठघाटमा करिब ५ हजार ५०० व्रतालु तथा लाखौँको संख्यामा दर्शनार्थी आउने अनुमान समितिले गरेको छ। छठ पर्वमा ठूलो संख्यामा भक्तजनको सहभागिता रहने भएकाले घाट परिसरमा आवश्यक व्यवस्थापन मिलाइएको समितिले जनाएको छ।

यसैबीच, घडिअर्वा छठघाटमा हुने छठ पूजामा विशिष्ट राजनीतिक व्यक्तित्वहरूको समेत उपस्थिति रहने कार्यक्रम छ। समितिका अनुसार प्रतिनिधिसभाका सभामुख डीपी अर्याल साँझको अर्घ्य दिन घडिअर्वा छठघाट आउने कार्यक्रम रहेको छ। त्यस्तै, नेपाली कांग्रेसका सभापति गगन थापा पनि आफ्नी पत्नीसहित सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिन घडिअर्वा आउने भएका छन्। दुवै नेताको आगमनलाई मध्यनजर गर्दै आवश्यक व्यवस्थापन तथा सुरक्षा तयारीसमेत मिलाइएको जनाइएको छ।

उता, छठघाटमा हुने ठूलो भीडलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था पनि अत्यन्त कडा पारिएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी दाहालले व्रतालु तथा दर्शनार्थीको भीड व्यवस्थापन र सम्भावित दुर्घटना न्यूनीकरणका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिएका छन्।

प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार घडिअर्वा छठघाटमा २४ सै घण्टा प्रहरी परिचालन गरिएको छ। सुरक्षा निगरानीलाई प्रभावकारी बनाउन छुट्टै कन्ट्रोल रुम स्थापना गरी सीसीटीभी क्यामेरामार्फत घाट परिसरको निरन्तर अनुगमन भइरहेको छ। घाट परिसरमा २० वटाभन्दा बढी सीसीटीभी क्यामेरा जडान गरिएको उनले बताए।

यसका अतिरिक्त, सुरक्षा तथा भीड व्यवस्थापनमा सहयोग पुर्‍याउन घडिअर्वा स्पोर्ट्स क्लबका ६० जना स्वयंसेवक परिचालन गरिएको छ। छठ पर्वका क्रममा हुन सक्ने सम्भावित दुर्घटना तथा आकस्मिक घटनालाई ध्यानमा राख्दै एम्बुलेन्स, दमकल र प्राथमिक उपचार शिविरको समेत व्यवस्था गरिएको समितिले जनाएको छ।

समितिले व्रतालु तथा दर्शनार्थीलाई छठघाटमा आउँदा सुरक्षा सतर्कता अपनाउन, स्वयंसेवक तथा सुरक्षाकर्मीको निर्देशन पालना गर्न र पूजालाई शान्तिपूर्ण एवं व्यवस्थित बनाउन सहयोग गर्न आग्रह गरेको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः