छठ पर्वलाई मर्यादित र सुरक्षित बनाउन प्रशासनको कडा निर्देशन, घाट क्षेत्रमा माछामासु र मदिरा निषेध

1200x150_1200x150-01.jpg (1)
वीरगञ्ज, २८ कात्तिक । आस्था, विश्वास र सद्भावको महान् पर्व छठ (२०८३) लाई भव्य, सभ्य र सुरक्षित रूपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय, पर्साले विशेष सुरक्षा मापदण्ड तथा सार्वजनिक अपिल जारी गरेको छ ।
जिल्ला सुरक्षा समिति, पर्साको शुक्रबार (कात्तिक २८ गते) बसेको बैठकको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी भोला दाहालले एक सूचना जारी गर्दै पर्वको धार्मिक मर्यादा कायम राख्न र सम्भावित दुर्घटना न्यूनीकरण गर्न सर्वसाधारण तथा सरोकारवालाहरूलाई आग्रह गर्नुभएको हो ।
प्रशासनले जारी गरेका मुख्य निर्देशन :
  • माछामासु तथा मदिरा पूर्ण निषेध: पर्वको धार्मिक पवित्रता र मर्यादा कायम राख्न विभिन्न छठ पूजा व्यवस्थापन समितिहरूको अनुरोधमा कात्तिक २८ र २९ गते छठ पूजास्थल तथा घाट वरिपरिको क्षेत्रमा माछा, मासु लगायत सम्पूर्ण मादक पदार्थको बिक्री वितरण र सेवन पूर्ण रूपमा बन्द गरिएको छ ।
  • पटका तथा आतिसबाजीमा रोक: आगलागी तथा मानवीय एवं भौतिक क्षति हुन नदिन पटका, आतिसबाजी जस्ता प्रज्वलनशील तथा विष्फोटकजन्य पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न प्रशासनले सचेत गराएको छ । अटेर गरी यस्ता कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ ।
  • घाटमा उच्च सतर्कता र उद्धार टोली: छठ घाट तथा पोखरीहरूमा पूजाआजा र अर्घ्य दिने क्रममा बालबालिका, वृद्धवृद्धा तथा सर्वसाधारण डुब्न सक्ने जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । साथै, सम्भावित विपद्को तत्काल उद्धारका लागि आवश्यक उपकरणसहित सुरक्षाकर्मीहरू तयारी अवस्थामा रहने प्रशासनले जनाएको छ ।
  • समन्वयको अपिल: पर्व अवधिभर शान्ति सुरक्षालाई चुस्त राख्न स्थानीय प्रशासन, सुरक्षा निकाय र पूजा व्यवस्थापन समितिहरूसँग समन्वय गरी सभ्य समाजको परिचय दिन सम्पूर्ण जिल्लावासीमा अपिल गरिएको छ ।
सूचनामार्फत प्रमुख जिल्ला अधिकारी दाहालले छठ पर्वको पावन अवसरमा सम्पूर्ण जिल्लावासीमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः