वीरगञ्ज । पूर्वमन्त्री प्रदीप यादवले छठ महापर्वको अवसरमा विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा उनीहरूका परिवारको मधेश भ्रमण बढ्नु सकारात्मक भएको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले मधेशको संस्कृति, परम्परा र लोकआस्थाप्रति राष्ट्रिय स्तरमा चासो बढ्नु स्वागतयोग्य रहेको उल्लेख गर्नुभएको छ ।
मधेश राष्ट्रिय चर्चामा आउनु सुखद् पक्ष भए तापनि राज्यको नेतृत्व तहबाट हुने व्यवहारप्रति भने उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको छ । “मधेशलाई राष्ट्रिय चर्चामा ल्याउने बेला सबैलाई मधेश चाहिन्छ, तर संघीयतालाई मजबुत बनाउने, मधेशलाई अधिकारसम्पन्न बनाउने र यहाँका जनतालाई समान अवसर तथा न्यायपूर्ण विकासको अनुभूति गराउने बेला नेतृत्वको प्राथमिकतामा मधेश पर्दैन,” पूर्वमन्त्री यादवले भन्नुभएको छ, “यो विडम्बनापूर्ण अवस्थाको अब अन्त्य हुनुपर्छ ।”
मधेशलाई केवल चाडपर्व र राजनीतिक भ्रमणका बेला मात्र सम्झिने परिपाटीको अन्त्य गर्दै यहाँका जनताका वास्तविक समस्या, आवश्यकता र सम्भावनालाई निरन्तर प्राथमिकतामा राख्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । छठको अनुष्ठानले समावेशी र सन्तुलित विकासका लागि सधैँ प्रेरित गरिरहेको उहाँको भनाइ छ ।
छठ पर्वको पावन अवसरमा शुभकामना व्यक्त गर्दै पूर्वमन्त्री यादवले समावेशी छठको मर्मलाई आत्मसात गरी मुलुकको प्रत्येक क्षेत्रमा सन्तुलित समुन्नति होस् भन्ने कामना गर्नुभएको छ । उहाँले पर्वका बेला मात्र नभई शिक्षा, स्वास्थ्य, रोजगारी, खेलकुद, पर्यटन, विकास र अधिकारका सवालमा पनि मधेशलाई सधैँ प्राथमिकतामा राख्न सरोकारवाला सबैको ध्यानाकर्षण गराउनुभएको छ ।







