सांसद पन्तद्वारा सिर्सिया नदीमा नारायणीको पानी मिसाउने स्थलको अवलोकन

1200x150_1200x150-01.jpg (1)

वीरगंज, कार्तिक २९ –

पर्सा क्षेत्र नम्बर १ का सांसद बुद्धिबहादुर पन्त ( हरिप्रसाद पन्त ) ले वीरगंज महानगरपालिका–२२ जगरनाथपुरस्थित गण्डक नहरबाट नारायणी नदीको पानी सिर्सिया नदीमा खसालिएको स्थलको अवलोकन गरेका छन्।

आइतबार बिहान करिब ७ बजे नेता तथा कार्यकर्तासहित जगरनाथपुर पुगेका सांसद पन्तले गण्डक नहरमार्फत ल्याइएको नारायणी नदीको पानी सिर्सिया नदीमा मिसाइएकोप्रति खुसी व्यक्त गरे। उनले नारायणी नदीको सफा पानी सिर्सिया नदीमा मिसिएपछि छठ पर्वमा व्रत बस्ने व्रतालु तथा श्रद्धालुहरूलाई लाभ पुग्ने विश्वास व्यक्त गरे।

यसअघि विभिन्न उद्योगबाट निस्कने प्रदूषित पानी सिर्सिया नदीमा विसर्जन गरिँदा नदी अत्यधिक प्रदूषित बन्दै आएको थियो। पछिल्लो समय बारा र पर्साका स्थानीय सुरक्षा निकायले समेत सिर्सिया नदी आसपासका उद्योगबाट निस्कने प्रदूषित पानीको विसर्जन नियन्त्रण गर्न अनुगमन तीव्र पारेका छन्।

गण्डक नहरमार्फत नारायणी नदीको पानी सिर्सियामा मिसाइएपछि वीरगंज महानगरपालिका–२१ पटेलनगर र वडा नम्बर २२ जगरनाथपुरस्थित घाटदेखि दक्षिणतर्फ रहेका छठघाटहरूमा सफा पानी पुग्ने अपेक्षा गरिएको छ। यसबाट छठ पर्वमा नदी किनारमा पूजा तथा अर्घ्य दिन जाने व्रतालु र श्रद्धालुहरूलाई सहज हुने विश्वास गरिएको छ।

सांसद पन्तले सिर्सिया नदीलाई दीर्घकालीन रूपमा सफा राख्न गण्डक नहरबाट पानी ल्याउने व्यवस्थालाई स्थायी बनाउनुपर्ने बताए। त्यसका लागि गण्डक नहरबाट पानी निकाल्ने स्थानमा स्थायी रूपमा कल्भर्ट तथा केवाडा निर्माण गरी नहरको पानी सिर्सिया नदीमा नियमित रूपमा मिसाउन सकिने गरी स्थायी सिँचाइ परियोजना अघि बढाउने योजना रहेको उनले जानकारी दिए।

उनले सिर्सिया नदी सफा गर्ने अभियानमा आफ्नो तथा पार्टीको पूर्ण प्रतिबद्धता रहेको उल्लेख गर्दै संघ सरकार र विभिन्न सरकारी निकायको सहयोगमा आगामी दिनमा पनि अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

पन्तले वीरगंजस्थित भारतीय महावाणिज्य दूतावास र नारायणी सिंचाइ व्यवस्थापन कार्यालय, गण्डक वीरगंजका अधिकारीहरूको समेत यो अभियानमा साथ र सहयोग रहेको जानकारी गराउदै धन्यवाद व्यक्त गरे।

सिर्सिया नदीको प्रदूषण नियन्त्रण र सफाइको विषय लामो समयदेखि स्थानीयवासीको चासोको विषय रहँदै आएको छ। नारायणी नदीको पानी मिसाउने कार्यलाई दीर्घकालीन योजनासँग जोडेर अघि बढाउन सके नदीको स्वच्छता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः