एजेन्सी , मंसिर २ –
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विदेश भ्रमणमा पछिल्लो १२ वर्षमा ९ अर्ब भारतीय रुपैयाँभन्दा बढी खर्च भएको छ ।
भारतको विदेश मन्त्रालयले संसद्का दुवै सदनमा दिएको जानकारीअनुसार सन् २०१४ जुनदेखि २०२६ जुलाईसम्म मोदीले ८१ देशको १८३ पटक भ्रमण गर्नुभएको छ ।
यस वर्षको जुलाईसम्म मात्रै उहाँका १६ विदेश भ्रमणमा कम्तीमा ७४ करोड ६० लाख रुपैयाँ खर्च भएको छ । तर सार्वजनिक अभिलेखमा विवरण उपलब्ध नभएकाले पछिल्ला तीन भ्रमणको खर्च यसमा समावेश छैन ।
मोदीले सन् २०१५ मा सबैभन्दा धेरै २८ पटक विदेश भ्रमण गर्नुभएको थियो । कार्यकालभर सबैभन्दा धेरै १० पटक अमेरिका तथा संयुक्त अरब इमिरेट्स, जापान र फ्रान्सको आठ–आठ पटक भ्रमण गर्नुभएको छ ।
विदेश मन्त्रालयका अनुसार यस्ता भ्रमणको उद्देश्य अन्य मुलुकसँगको सम्बन्ध सुदृढ बनाउनु तथा द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्य बढाउनु हो ।
मन्त्रालयका अनुसार प्रधानमन्त्रीको आवास तथा अन्य सुविधाको खर्च आयोजक देशले व्यहोर्ने गरेको छ भने उहाँसँगै जाने अधिकारी र सुरक्षा व्यवस्थापनको खर्च भारत सरकारले व्यहोर्छ ।
यसैबीच, पूर्वप्रधानमन्त्री मनमोहन सिंहले आफ्नो १० वर्षे कार्यकालमा ९६ देशको भ्रमण गर्नुभएको थियो भने मोदीले पहिलो १० वर्षमा १३३ वटा विदेश भ्रमण गर्नुभएको थियो ।






