बारा , मङ्सिर ३ –
बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित ४ नम्बर पुलमा ईभीले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने उनकी श्रीमती घाइते भएकी छन्।
बिहीबार दिउँसो करिब १२ बजे वीरगंजबाट काठमाडौं जाँदै गरेको बा.०१–००६ ख ९८३६ नम्बरको ईभीले विपरीत दिशाबाट आउँदै गरेको बा.०२–०३७ प ८५९८ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।
दुर्घटनामा स्कुटर चालक सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ निवासी ६० वर्षीय निरबहादुर वाइबाको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका वाइबालाई परवानीपुरस्थित एलएस न्युरो अस्पताल पुर्याइएकोमा चिकित्सकले दिउँसो १ बजेर २१ मिनेटमा मृत घोषणा गरेका थिए।
स्कुटरको पछाडि सवार उनकी ५६ वर्षीया श्रीमती माइली माया तामाङ घाइते भएकी छन्। उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।
ईभी चालक झापाको बिर्तामोड नगरपालिका–५ निवासी करिब ५० वर्षीय रमेश प्रसाईं र दुर्घटनामा संलग्न दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय अमलेखगञ्जको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।







