रक्सौल , मंसिर ३-
भारतको रक्सौल रेलवे जंक्शनलाई आगामी एक वर्षभित्र आधुनिक तथा विश्वस्तरीय सुविधासहित पुनर्विकास गरिने भएको छ। पूर्व मध्य रेलवेका महाप्रबन्धक डिम्पी गर्गले बुधबार रेल अधिकारीहरूको टोलीसहित स्टेशनको निरीक्षण गर्दै सन् २०२७ भित्र निर्माण कार्य सम्पन्न गर्ने समयसीमा निर्धारण गरेका छन्।
अमृत भारत स्टेशन योजनाअन्तर्गत भइरहेको पुनर्निर्माण कार्यको समीक्षा गर्दै महाप्रबन्धक गर्गले निर्माणको गति बढाउन र गुणस्तरमा ध्यान दिन सम्बन्धित अधिकारी तथा निर्माण कम्पनीलाई निर्देशन दिएका छन्।
छठ पर्वपछि घर फर्किने यात्रुको चापलाई ध्यानमा राख्दै स्टेशनमा अतिरिक्त टिकट काउन्टर, होल्डिङ एरिया, खानेपानी, बस्ने व्यवस्था र सुरक्षाका विशेष प्रबन्ध गरिएको छ। निरीक्षणका क्रममा महाप्रबन्धकले यात्रुको सहज आवागमन र सुरक्षालाई प्राथमिकता दिन निर्देशन दिएका छन्।
उनले रक्सौलस्थित नेपाली स्टेशनको पनि निरीक्षण गरेका थिए। नेपाली स्टेशनको लिजसम्बन्धी विवरण बुझेर लिज अवधि समाप्त भएको भए रेलवेले आफ्नो नियन्त्रणमा लिनुपर्ने विषयमा पनि छलफल भएको छ।
भारत–नेपाल सीमाको महत्वपूर्ण रेल केन्द्र रक्सौलबाट भविष्यमा काठमाडौं रेलमार्ग सञ्चालनको सम्भावना र वन्दे भारत रेल सेवाबारे पनि चर्चा भइरहेको समाचारमा उल्लेख छ।
रेलवे अधिकारीहरूको टोलीमा डिभिजनल रेल प्रबन्धक ज्योति प्रकाश मिश्रासहित विभिन्न विभागका अधिकारी सहभागी थिए।







