पर्सामा एन्टिबायोटिकको दुरुपयोगले एएमआर जोखिम बढ्दो

1200x150_1200x150-01.jpg (1)

पर्सा , मङ्सिर ३-

चिकित्सकको सल्लाहविना एन्टिबायोटिक सेवन गर्ने र औषधिको निर्धारित मात्रा पूरा नगर्ने प्रवृत्तिले वीरगंजसहित पर्सामा एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) को जोखिम बढाएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

पहिले प्रयोग गरेर निको भएको औषधि पुनः सेवन गर्ने तथा लक्षण कम भएपछि औषधि बीचमै छाड्ने बानीले औषधि प्रतिरोधी जीवाणु विकासको जोखिम बढाउने उनीहरूको भनाइ छ। एएमआरका कारण सामान्य सङ्क्रमणको उपचारसमेत जटिल बन्ने र औषधिले प्रभावकारी रूपमा काम नगर्ने अवस्था आउन सक्छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सन् २०२४ को अध्ययनअनुसार २८ प्रतिशत बिरामीले चिकित्सकको सल्लाहविना औषधि किन्ने गरेका छन् भने २२ प्रतिशतले औषधिको पूरा मात्रा सेवन नगरी बीचमै छाड्ने गरेका छन्।

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले एएमआर मौन महामारीका रूपमा फैलिँदै गएको बताएका छन्। उनका अनुसार अस्पतालका सघन उपचार कक्षमा देखिने कतिपय ब्याक्टेरियामा कुनै पनि एन्टिबायोटिकले काम नगर्ने अवस्था देखिन थालेको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२१ मा ब्याक्टेरियाजन्य एएमआर ४७ लाख १० हजार मानिसको मृत्युमा सम्बन्धित थियो भने ११ लाख ४० हजारको मृत्यु प्रत्यक्ष रूपमा एएमआरसँग जोडिएको थियो। सन् २०२५ देखि २०५० सम्ममा यसका कारण विश्वभर ३ करोड ९० लाखभन्दा बढी मानिसको प्रत्यक्ष मृत्यु हुन सक्ने अनुमान छ।

स्वास्थ्यविज्ञहरूले चिकित्सकको सल्लाहविना एन्टिबायोटिक सेवन नगर्न, तोकिएको मात्रा पूरा गर्न र बाँकी औषधि आफूखुसी पुनः प्रयोग नगर्न आग्रह गरेका छन्। साथै, वीरगंजमा औषधिपसलको नियमित अनुगमन, प्रेस्क्रिप्सनको पालना र जनचेतना अभिवृद्धि गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।

नोभेम्बर १८ देखि २४ सम्म मनाइने विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताहका अवसरमा नेपालमा यस वर्ष ‘एक स्वास्थ्य, एक अभियानः प्रतिरोधको आजैबाट रोकथाम’ नारासहित विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्।

साभार// प्रतिक दैनिक

भर्खरै

सम्बन्धित पोस्टहरुः