विराटनगर : विराटनगरकी अनुसन्धानकर्ता डा. रोजी प्रधान श्रेष्ठले बेलायतमा अनुसन्धान गर्न करिब सवा पाँच करोड रुपैयाँ बराबरको प्रतिष्ठित अन्तर्राष्ट्रिय फेलोसिप प्राप्त गरेकी छन्।
उनले बेलायतको ‘ब्रिटिश एकेडेमी अन्तर्राष्ट्रिय अनुसन्धान फेलोसिप–२०२६’ अन्तर्गत दुई लाख ५५ हजार ८८४ बेलायती पाउन्डभन्दा बढी रकम प्राप्त गरेकी हुन्। यो फेलोसिप प्राप्त गर्ने उनी पहिलो नेपाली अनुसन्धानकर्ता भएको जनाइएको छ।
डा. प्रधानले बेलायतको लफबरो विश्वविद्यालयमा सन् २०२६ डिसेम्बरदेखि २०२८ नोभेम्बरसम्म दुई वर्ष अनुसन्धान गर्नेछिन्। उनको अध्ययन शून्य कार्बन उत्सर्जन अभियानका क्रममा सीमान्तकृत समुदायले भोग्ने ऊर्जा सङ्कट र ऊर्जा पहुँचमा देखिने असमानतामा केन्द्रित हुनेछ।
विराटनगर–२ माइती भएकी प्रधानले पूर्वाञ्चल विश्वविद्यालयबाट स्नातकोत्तर तहमा स्वर्णपदक प्राप्त गरेकी थिइन्। उनले सन् २०२३ मा थाइल्यान्डको प्रिन्स अफ सोङ्खला विश्वविद्यालयबाट दिगो ऊर्जा व्यवस्थापन विषयमा विद्यावारिधि पूरा गरेकी हुन्।
यसअघि सन् २०२५ मा उनले युरोपेली आयोगको प्रतिष्ठित ‘मेरी स्क्लोडोस्का क्युरी पोस्टडक्टोरल फेलोसिप सिल अफ एक्सिलेन्स’ सम्मानसमेत प्राप्त गरेकी थिइन्।






