धनुषा , मंसिर ५ –
धनुषाको धनुषाधामबाट कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित एक महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–५, निर्धना टोलकी ४० वर्षीया गंगावती महतो रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शनिबार साँझ करिब ७ बजे धनुषाधाम नगरपालिका–४, गौरीपुर टोलबाट उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार महतोले कम्मरमा कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोली लुकाएर लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको हो। उनलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






