वीरगंज,१८ साउन /
पर्साको पोखरिया-४ पोखरिया बजारस्थित कुशवाहा बीज भण्डारमा रासायनिक मलको कालोबजारी गरेको आरोपमा पक्राउ परेका पसल सञ्चालक अवधेश कुशवाहा ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्।
जिल्ला प्रशासन कार्यालय पर्साले अनुसन्धान प्रतिवेदनका आधारमा उनलाई साउन १५ गते शुक्रबार धरौटीमा छाडेको हो।
के थियो घटना ?
साउन ९ गते पोखरियाका एक किसानले सोही पसलमा २ बोरा पोटास मल खरिद गरेका थिए। सरकारले तोकेको अधिकतम खुद्रा मूल्य प्रति बोरा १८ सय रुपैयाँ भए पनि सञ्चालकले प्रति बोरा २४ सयका दरले जम्मा ४ हजार ८ सय रुपैयाँ लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
५० केजीको पोटासको १ बोरा वीरगंजस्थित कृषि सामग्री कम्पनीबाट रु.१६ सयमा खरिद हुन्छ। ढुवानी भाडा जोड्दा पनि पोखरियामा बढीमा रु. १८ सयमा बिक्री गर्न पाइन्छ। तर भिडियोमा सञ्चालकले तोकिएको भन्दा ६ सय रुपैयाँ बढी लिएको स्पष्ट देखिएको थियो।
भिडियो सार्वजनिक भएपछि स्थानीय र किसानबाट प्रहरी प्रशासनमाथि अनुसन्धानको दबाब बढेको थियो।
प्रहरीको कारबाही प्रक्रिया
पहिलो चरणमा पोखरिया प्रहरीले कुशवाहालाई नियन्त्रणमा लिए पनि जाहेरी नपरेको भन्दै स्थानीय नेताको दबाबमा रिहा गरेको थियो।
त्यसपछि साउन ११ गते जिल्ला प्रशासन र पर्सा प्रहरीमा लिखित जाहेरी परेपछि ईलाका प्रहरी कार्यालय पोखरियाले साउन १२ गते उनलाई सोधपुछका लागि बोलाएर नियन्त्रणमा लिएको थियो। ४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरेपछि प्रहरीले मिसिल जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो।
अनुसन्धान के-के बाँकी छ ?
पर्सा प्रहरीका डीएसपी चक्रबहादुर मल्लका अनुसार मुद्दा हाल विचाराधीन अवस्थामा छ। “अहिलेलाई धरौटीमा रिहा गरिएको हो। उनले कुन निकायबाट कति बोरा मल खरिद-बिक्री गरे, कति किसानको नाममा बिल काटे भन्ने बारेमा थप अनुसन्धान भइरहेको छ,” डीएसपी मल्लले भने। अहिलेसम्म सार्वजनिक भिडियोमा मलको कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गरिएको आरोप लागेको छ। तर यसको अन्तिम कानुनी टुंगो लाग्न बाँकी रहेको प्रहरीले जनाएको छ।
किसानको आशंका
घटना सार्वजनिक भएको केही दिनमै मिसिल प्रशासनमा पुगेर आरोपित रिहा भएकोप्रति पोखरियाका किसानले आशंका व्यक्त गरेका छन्। “यति चाँडो प्रक्रिया टुंग्याएर धरौटीमा रिहा गर्नुमा सेटिङ भएको हुन सक्छ,” एक किसानले बताए। अहिले पोखरिया क्षेत्रमा मलको चरम अभाव र कालोबजारी बढेको भन्दै किसानहरूले कडा अनुगमन र कारबाहीको माग गरेका छन्।






