वीरगंज , कार्तिक १६ —
पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले भारतको विरोध गरेकै आधारमा राष्ट्रवादी बन्ने परिपाटी नेपालमा बिस्तारै अन्त्य हुँदै गएको बताएका छन् ।
वीरगंजस्थित भारतीय महावाणिज्यदूतावासले आइतबार साँझ आयोजना गरेको ‘वन्दे मातरम्’को १५०औँ वार्षिकोत्सव समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापतिसमेत रहेका पन्तले यस्तो बताएका हुन् ।
नेपालले भारतसँगको सम्बन्धलाई सधैँ उच्च महत्त्व दिँदै आएको उल्लेख गर्दै उनले भारतको विरोध गरेर आफू र आफूले नेतृत्व गरेको दललाई राष्ट्रवादी कित्तामा उभ्याउने प्रवृत्ति अन्त्य हुँदै गएको बताए । रास्वपा सरकार ‘चाइना कार्ड’ र ‘भारत कार्ड’ दुवैमा विश्वास नगर्ने उनको भनाइ थियो ।
नेपालको भूमि छिमेकी राष्ट्रहरूको विरुद्ध प्रयोग हुन नदिने नेपालको पुरानै राष्ट्रिय नीतिमा रास्वपा र वर्तमान सरकार अडिग रहने पनि उनले स्पष्ट पारे ।
पन्तले नेपाल–भारत सम्बन्ध सामान्य छिमेकीको सम्बन्धभन्दा विशिष्ट रहेको बताए । दसैँ, दीपावली, छठ र होलीजस्ता साझा चाडपर्व, धार्मिक आस्था, परम्परा तथा पारिवारिक सम्बन्धले दुई देशबीचको सम्बन्धलाई थप जीवन्त बनाएको उनको भनाइ थियो ।
भारतीय महावाणिज्यदूतावास वीरगंजका महावाणिज्यदूत देवी सहाय मिनाको अध्यक्षतामा आयोजित कार्यक्रममा भारतकी लोकगायिका विजया भारतीले सांगीतिक प्रस्तुति दिएकी थिइन् ।






