पर्सा , साउन १९ —
विभिन्न १५ बुँदे माग अघि सार्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंस्थित वीर अस्पताल परिसरमा प्रदर्शन गरेका छन्। नर्सिङ क्षेत्रको सुधार र न्यूनतम पारिश्रमिकको सुनिश्चितताको मागसहित आमरण अनशनमा बसेकी नर्स ज्योति रानाभाटको समर्थनमा उनीहरू सडकमा उत्रिएका हुन्।
आमरण अनशनको पाँचौँ दिन रानाभाटको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ।
यसैबीच, स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले आन्दोलनप्रति सरकार गम्भीर रहेको बताउँदै उच्चस्तरीय संवादमार्फत समस्याको सकारात्मक समाधान खोज्ने प्रयास भइरहेको जानकारी दिएकी छन्।
तर अनशनरत रानाभाटले स्वास्थ्य, शिक्षा, श्रम तथा अर्थ मन्त्रालयका प्रतिनिधि सम्मिलित अधिकारसम्पन्न वार्ता टोलीसँग मात्र छलफल गर्ने अडान कायम राखेकी छन्।
नेपाल नर्सिङ संघले पनि विगतमा भएका सहमति तत्काल कार्यान्वयन गर्न र अनशनरत रानाभाटको जीवन रक्षा गर्न आवश्यक पहल गर्न सरकारसँग आग्रह गरेको छ।






