रसुवा , भदौ ११ —
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित ३३६ जनाको हवाई उद्धार गरिएको छ। आज बिहानदेखि टिमुरे, धुञ्चे र मैलुङ क्षेत्रबाट ६ देशका ४५ विदेशी नागरिकसहित उनीहरूको उद्धार गरिएको हो।
सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार नेपाली सेनाका करिब ४ हजार जनशक्तिको समन्वयमा घाइतेको खोज तथा उद्धार, आपत्कालीन उपचार र राहत वितरण जारी छ।
टिमुरे क्षेत्रमा सम्पर्कविहीन रहेका २१ भारतीय पर्यटकको समेत उद्धार गरी काठमाडौं ल्याउने तयारी भइरहेको सेनाले जनाएको छ।
सेनाले प्रभावित क्षेत्रमा खाद्य सामग्री, टेन्ट र औषधिसहितका राहत सामग्री पुर्याइसकेको छ। आज टिमुरे, स्याफ्रुबेँसी तथा नदी तटीय क्षेत्रमा हेलिकप्टर र पैदल टोली परिचालन गरी उद्धार तथा बेपत्ताको खोजीलाई थप तीव्र पारिएको छ।
सरकारले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै सबै सरकारी संयन्त्रलाई उद्धार, राहत र उपचारमा केन्द्रित गरेको जनाएको छ।







