वीरगंज , मङ्सिर १० –
पर्सा राष्ट्रिय निकुञ्जबाट निस्कने वन्यजन्तुले मानव बस्तीमा प्रवेश गरी जनधन तथा अन्नबालीमा क्षति पुर्याउने क्रम रोकिएको छैन।
निकुञ्जको मध्यवर्ती क्षेत्र मात्र नभई आसपासका अन्य बस्तीमा समेत वन्यजन्तु पुगेर क्षति पुर्याउने घटना निरन्तर भइरहेका छन्।
वन्यजन्तुबाट हुने क्षतिबापत निकुञ्जले वर्षेनि लाखौँ रुपैयाँ राहत तथा क्षतिपूर्ति वितरण गर्दै आए पनि मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण हुन सकेको छैन।
निकुञ्ज कार्यालयका अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म वन्यजन्तुले पशुधन, घरगोठ र अन्नबालीमा पुर्याएको क्षतिबापत ६ लाख ४० हजार रुपैयाँ राहत वितरण गरिएको छ। यस अवधिमा वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति भएको घटना भने अभिलेखमा छैन। क्षतिको मूल्यांकनका आधारमा पीडितलाई राहत उपलब्ध गराइएको निकुञ्जका संरक्षण तथा सूचना अधिकृत मनोज मण्डलले जानकारी दिए।
गत आर्थिक वर्षमा वन्यजन्तुबाट भएका २ सय ५५ घटनामा पीडितलाई २६ लाख ५८ हजार ४ सय ६८ रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको थियो। क्षतिको प्रकृतिअनुसार अन्नबालीमा क्षति पुगेका १ सय ८७ घटना सबैभन्दा बढी थिए। यसैगरी पशुधनमा क्षति पुगेका ६०, घरगोठमा क्षति पुगेका दुई, भण्डारण गरिएको अन्नमा क्षति पुगेका दुई र कुखुरा मारिएका एक घटना अभिलेख गरिएको थियो।
मानवीय क्षतितर्फ सामान्य घाइते भएको एक र सख्त घाइते भएको एक घटना पनि निकुञ्जको तथ्यांकमा उल्लेख छ।
निकुञ्जको अभिलेखअनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी क्षति हात्ती र जंगली बँदेलबाट भएको छ। हात्तीबाट ७८, जंगली बँदेलबाट ६९ र चितुवाबाट ५० घटना भएका थिए। त्यस्तै नीलगाईबाट २६, बाँदरबाट १८, बाघबाट १०, गैँडाबाट दुई तथा भालु र अजिंगरबाट एक–एक घटना भएका थिए।
निकुञ्जले वन्यजन्तुको प्रजाति र क्षतिको प्रकृतिका आधारमा छुट्टाछुट्टै तथ्यांक राख्ने गरेको छ। यी दुवै विवरणमा समेटिएका घटना र क्षतिपूर्तिको रकम एउटै भएकाले प्रजातिअनुसार र क्षतिको प्रकृतिअनुसारका घटना संख्या जोडेर कुल घटना निकाल्न नमिल्ने कार्यालयले जनाएको छ।
विशेषगरी खेतीपातीको समयमा अन्नबालीमा हुने क्षति र पशुधनमाथिको आक्रमणले मध्यवर्ती क्षेत्रका बासिन्दा प्रभावित हुँदै आएका छन्। वन्यजन्तु बस्तीमा पस्दा स्थानीयले बालीनाली तथा पशुधन गुमाउनुपरेको छ। कतिपय अवस्थामा मानवीय सुरक्षामाथि समेत जोखिम सिर्जना हुने गरेको छ।
वन्यजन्तुको बासस्थान, आहारको उपलब्धता, मानव बस्ती र खेतीयोग्य जमिनसँगको निकटता तथा वन्यजन्तुको आवागमनलाई मानव–वन्यजन्तु द्वन्द्वका प्रमुख चुनौतीका रूपमा हेरिएको छ। निकुञ्जको मध्यवर्ती क्षेत्रबाहिरका बस्तीमा समेत वन्यजन्तु पुगेर क्षति पुर्याउने गरेका छन्। वन्यजन्तुको संरक्षणसँगै स्थानीय बासिन्दाको जनधन र जीविकोपार्जन सुरक्षित राख्नु निकुञ्ज व्यवस्थापनका लागि चुनौती बनेको छ।







