वीरगञ्ज । लामो समयदेखि वीरगञ्जमा व्यापार व्यवसाय गर्दै आएका भारत उत्तराखण्ड राज्यअन्तर्गत पिथौरागढ निवासी शंकरलाल मित्तलले झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएको आरोप छ। मित्तलले जिल्ला प्रशासन कार्यालय, बाराबाट जन्मका आधारमा नेपाली नागरिकता लिएको र त्यसका लागि पेस गरिएका विवरण तथा कागजातमा गम्भीर त्रुटि रहेको दाबी गरिएको छ।
मित्तलको नागरिकता छानबिन गरी बदर तथा कानुनबमोजिम कारबाही गर्न माग गर्दै सप्तरीको वभनगामाकट्टी गाउँपालिका–६ का एक सामाजिक अभियन्ताले जिल्ला प्रशासन कार्यालय, बारामा उजुरी दिएका छन्।
उजुरीमा मित्तलले वीरगञ्ज महानगरपालिका–९ बाट आफू लामो समयदेखि नेपालमा बसोबास गर्दै आएको भन्दै सिफारिस लिएको र त्यसकै आधारमा तत्कालीन कलैया नगरपालिका–४ बाट २०६३ सालमा सञ्चालन गरिएको नागरिकता टोलीमार्फत जन्मका आधारमा नेपाली नागरिकता लिएको उल्लेख गरिएको छ।
उजुरीमा समावेश विवरणअनुसार मित्तलको उमेर, नेपालमा बसोबास गरेको अवधि तथा वडा कार्यालयबाट जारी गरिएको सिफारिसबीच नै असंगति देखिएको दाबी गरिएको छ। नागरिकता लिने समयमा उनको उमेर ४० वर्ष उल्लेख गरिएको भए पनि नागरिकतामा उल्लिखित जन्ममितिका आधारमा उमेर ४२ वर्ष हुने र सोही कागजातमा ४५ वर्षदेखि नेपालमा बसोबास गरेको उल्लेख हुनु आफैंमा विरोधाभासपूर्ण रहेको उजुरीकर्ताको दाबी छ।
त्यस्तै, वीरगञ्ज महानगरपालिका–९ बाट जारी गरिएको सिफारिसमा मिति तथा विवरणसम्बन्धी त्रुटि रहेको र मित्तलका छोराछोरीसमेत नेपालमै बसोबास गर्दै आएको उल्लेख गरिएको बताइएको छ।
मित्तलको जन्मस्थल भारतको पिथौरागढ रहेको र नागरिकता लिने समयमा उनी कुन देशका नागरिक थिए भन्ने विषयमा समेत अनुसन्धान हुनुपर्ने उजुरीकर्ताको माग छ।
नागरिकता प्राप्त गरेपछि पनि मित्तलले आफ्नो फेसबुक प्रोफाइलमा स्थायी ठेगाना भारतको पिथौरागढ उल्लेख गरेको र पछि उक्त विवरण परिवर्तन गरेको दाबी गरिएको छ। सामाजिक सञ्जालमा राखिएको विवरणलाई मात्रै नागरिकताको प्रमाण मान्न नसकिने भए पनि नागरिकता लिने समयको उनको राष्ट्रियता तथा नागरिकताको अवस्थाबारे सम्बन्धित निकायले अनुसन्धान गर्नुपर्ने माग गरिएको छ।
मित्तलले २०६३ सालमा तत्कालीन कलैया नगरपालिका–४ बाट झुटो विवरण पेस गरी जन्मका आधारमा नेपाली नागरिकता लिएको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, बारा तथा गृह मन्त्रालयमा समेत उजुरी परेको बताइएको छ। तर उजुरी परेको लामो समय बितिसक्दा पनि ठोस कारबाही अघि नबढेको उजुरीकर्ताको गुनासो छ।
उजुरीमाथि अनुसन्धान भइरहेका बेला मुद्दा फाँटमा कार्यरत कर्मचारीलाई आर्थिक प्रभावमा पारेर विषयलाई निष्क्रिय बनाउने प्रयास भइरहेको आरोपसमेत लगाइएको छ। यद्यपि, उक्त आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ।
वीरगञ्जका केही व्यवसायीका अनुसार मित्तल परिवार करिब २०६० सालतिर व्यापार व्यवसायका लागि नेपाल आएको थियो। त्यसअघि उनी नेपालमा बसोबास गर्दै आएको दाबी र उपलब्ध विवरणबीच मेल नखाने भएकाले नागरिकता प्राप्त गर्ने प्रक्रियामा पेस भएका कागजातको सत्यता छानबिन गर्नुपर्ने उनीहरूको भनाइ छ।
वीरगञ्ज महानगरपालिका–९ बाट मित्तलको नेपालमा लामो समयदेखि बसोबास रहेको व्यहोरा प्रमाणित गरी सिफारिस गर्ने तत्कालीन वडा सचिव रमेश श्रीवास्तवको भूमिकामाथि समेत अनुसन्धान गर्नुपर्ने माग गरिएको छ।






