वीरगंज–१४ मा बौधीमाई मन्दिर संरक्षणका लागि व्यवस्थापन संस्था गठन

1200x150_1200x150-01.jpg (1)

वीरगंज – वीरगंज महानगरपालिका–१४ सानो पिपरामा बौधीमाई मन्दिरको संरक्षण, व्यवस्थित व्यवस्थापन तथा धार्मिक–पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बौधीमाई व्यवस्थापन संस्था गठन गरिएको छ ।

बिहीवार आयोजित कार्यक्रममा नेकपा एमाले मधेस प्रदेशका उपाध्यक्ष एवं संविधानसभा सदस्य विचारीप्रसाद यादवले वृक्षारोपण गरी संस्थाको उद्घाटन गरे । कार्यक्रम संस्थाका अध्यक्ष धुरुण पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका नेता अनिल पटेल, आम जनता पार्टी पर्साका अध्यक्ष विश्वराज पटेल, पूर्ववडाध्यक्ष भरत कुर्मीलगायतले बौधीमाई क्षेत्रको संरक्षण र विकासमा स्थानीय समुदायको भूमिका महत्त्वपूर्ण हुने बताए ।

संस्थाका सचिव मुकेश पटेलले मन्दिरको संरक्षणसँगै क्षेत्रको सरसफाइ, सौन्दर्यीकरण, व्यवस्थित व्यवस्थापन तथा विभिन्न रचनात्मक गतिविधि सञ्चालन गरी यसको धार्मिक र पर्यटकीय महत्त्व बढाउने उद्देश्य रहेको बताए ।

प्रमुख अतिथि यादवले बौधीमाई मन्दिरको विकासका लागि प्रदेश सरकारसँग आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । आफू २०७० सालमा सांसद हुँदा उक्त क्षेत्रमा स्नानघर निर्माण गरी विकासको सुरुआत गरेको स्मरण गर्दै उनले वीरगंजको धरोहरका रूपमा रहेको बौधीमाई क्षेत्रलाई पर्यटकीयस्थल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।

धुरुण पटेलको अध्यक्षतामा ११ सदस्यीय संस्था गठन गरिएको छ । उपाध्यक्षमा सन्देश पटेल, सचिवमा मुकेश पटेल, सहसचिवमा बद्रीनारायण पटेल र कोषाध्यक्षमा मुनेशकुमार पटेललगायत सदस्यहरू छन् ।

कार्यक्रममा सशस्त्र प्रहरी १३ नं गणका प्रहरी नायब उपरीक्षक बालकृष्ण महर्जन, वडा सदस्य कान्तिदेवी चमार, प्रमिलादेवी महरालगायत स्थानीयवासीको सहभागिता थियो ।

सम्बन्धित पोस्टहरुः