काठमाडौं। अविरल वर्षासँगै आएको पहिरो, बाढी र सडक कटानका कारण पृथ्वी राजमार्ग र बिपी राजमार्ग अवरुद्ध छ। दुई प्रमुख सडक बन्दले उपत्यका भित्रिने र बाहिरिने सवारीको लाम लागेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार लगातारको झरीसँगै पासाङल्हामु, अरनिको, सिद्धिचरण, मध्यपहाडी, कालीगण्डकी, राप्ती र कर्णालीलगायत मुख्य राजमार्गका विभिन्न खण्ड अवरुद्ध छन्। धादिङको पृथ्वी राजमार्ग, काभ्रेको बीपी र अरनिको राजमार्ग, चितवनको नारायणगढ–मुग्लिन तथा रसुवाको पासाङल्हामु राजमार्गमा यातायात पूर्ण वा लामो समयदेखि रोकिएको छ। देशका विभिन्न सडकमा नयाँ पहिरो जाने क्रम जारी रहेकाले राजमार्ग सञ्चालन अनिश्चित बनेको छ।
धादिङमा पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर, टिङराङखानी, परेवा भिर र बाङ्गे मोडमा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध छ। सडक विभागका अनुसार चौकीभीर, जवाङ खोला र फिस्लिङ क्षेत्रमा पनि पहिरोले सडक अवरुद्ध गरेको छ। लगातार वर्षा भइरहेकाले तत्काल यात्रा नगर्न आग्रह गरिएको प्रहरीद्वारा जारी सूचनामा छ।
काभ्रेको बिपी राजमार्गका माम्ती, पिप्ले, दाउन्ने-कालोपुल, चारसयबेँसी, कटुन्जे र चौकीडाँडालगायत स्थानमा पहिरो गएको छ। रोशी गाउँपालिका-७ चारसयबेँसी र वडा नं. ८ गिम्दीबेँसीमा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द छ। सडक पुनः सञ्चालन गर्न करिब दुई दिन लाग्न सक्ने अनुमान गरिएको छ। धुलिखेल-८ पकुचामा ढुंगासहितको पहिरो खसेपछि अरनिको राजमार्ग पनि दुवैतर्फ अवरुद्ध भएको छ।
चितवनमा नारायणगढ-मुग्लिन सडकका विभिन्न स्थानमा लगातार पहिरो गइरहेकाले अर्को सूचना नभएसम्म सबै सवारी साधनको आवागमन बन्द गरिएको छ। सिन्धुलीमा सम्भावित बाढीपहिरोको जोखिमका कारण बिपी राजमार्गमा आइतबारसम्मका लागि सवारी आवागमनमा रोक लगाइएको छ।
रसुवामा त्रिशूली नदीको कटान र बाढीले पासाङल्हामु राजमार्गको ठूलो भाग नष्ट गरेको छ। त्रिशूली बजार, बेत्रावती हुँदै रसुवागढी जाने मुख्य मार्ग अवरुद्ध रहेकाले स्याफ्रुबेंसीसम्म पुग्न टोखा, छहरे, विदुर, नुवाकोट दरबार, फलाँटे, चोकदे, लच्याङ,सरमथली, पार्च्याङ, भोर्ले, कालिकास्थान, स्याउबारी, राम्चे, सोले, धुन्चे हुँदै जाने एक लेनको कच्ची वैकल्पिक सडक प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ। टोखा-छहरे सडकमा अत्यावश्यक सेवाबाहेकका सवारीलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म रोक लगाइएको छ।
बागमती प्रदेशमै मकवानपुरमा पृथ्वी र कान्ति राजमार्ग अवरुद्ध भएपछि हेटौंडा–काठमाडौं आवागमनका लागि त्रिभुवन राजपथ प्रयोग गर्ने समयतालिका बनाइएको छ। हेटौंडाबाट काठमाडौं जाने सवारीलाई बिहान ४ देखि ८ बजेसम्म र राति १० देखि असोज ११ गते बिहान २ बजेसम्म सञ्चालन गर्न दिइनेछ। काठमाडौं–हेटौंडा दिउँसो १ देखि ५ बजेसम्म र आइतबार बिहान ७ देखि ११ बजेसम्म सवारी सञ्चालन हुनेछ।
त्रिभुवन राजपथमा १० चक्काभन्दा लामो र १५ टनभन्दा बढी भार भएका मालवाहक सवारीलाई अर्को व्यवस्था नभएसम्म निषेध गरिएको छ। यात्रुवाहक सवारीमा ११ मिटर लम्बाइसम्मका साधनले मात्र उक्त मार्ग प्रयोग गर्न पाउनेछन्।
कोशी प्रदेशमा ताप्लेजुङ, भोजपुर, सोलुखुम्बु, उदयपुर, खोटाङ, इलाम, पाँचथर, धनकुटा र तेह्रथुममा रातिको समयमा विभिन्न राजमार्ग तथा भित्री सडकमा आवागमन रोकिएको छ। सोलुखुम्बुमा सिद्धिचरण लोकमार्ग, भोजपुरमा मध्यपहाडी लोकमार्ग तथा उदयपुरमा कटारी–घुर्मी सडकमा रातिको आवागमन बन्द गरिएको छ। तमोर करिडोरको मुलघाट–फिदिम खण्डमा छरुवा खोला, नावा खोला र रानीगाउँमा पनि सडक अवरुद्ध छ।
गण्डकी प्रदेशमा मनाङ, कास्की, मुस्ताङ, म्याग्दी र पर्वतमा रातिको सवारी आवागमन रोकिएको छ। मनाङमा बेंसीसहर–खाङसार सडकमा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म सवारी बन्द गरिएको छ। कास्की, मुस्ताङ र म्याग्दीमा पनि रातिको समयमा सवारी सञ्चालन रोकिएको छ।
म्याग्दीको बेनी–जोमसोम सडक बैसरी र सुकेबगरमा पहिरो खसेपछि पूर्ण रूपमा बन्द भएको छ। मुस्ताङको जोमसोम–कोरला सडक सेल्फीडाँडा र कालोभीरमा अवरुद्ध छ। थासाङ गाउँपालिका–४ काभ्रेभीरमा पहिरो खसेपछि बेनी–जोमसोम सडकको अर्को खण्ड पनि बन्द भएको छ।
कर्णाली राजमार्ग अन्तर्गत जुम्लाको तातोपानी -१ स्थित राँका सडकखण्डमा खसेको पहिरो । उक्त पहिरोले खलङ्गा बजारबाट चल्ने सवारी ठप्प छन्। तस्बिर : रासस
बागलुङको मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोला–कानाबगर तथा कालीगण्डकी करिडोरको जैमिनी–८ बेलबगरमा पहिरोले सडक बन्द गरेको छ। पर्वतको फर्से र लस्तीमा रुख ढलेपछि पोखरा–बेनी–बागलुङ सडक अवरुद्ध भएको छ। गुल्मीमा रिडी–तम्घास मदनभण्डारी राजमार्ग, रुद्रबेँसी–वामीटक्सार सडक र कालीगण्डकी करिडोरका विभिन्न स्थानमा पहिरो र लेदोका कारण सडक बन्द छन्।
लुम्बिनी प्रदेशमा दाङका तुलसीपुर–कपुरकोट, भालुवाङ–गनाहा खोला, घोराही–होलेरी, घोराही-मुर्कुटी र तुलसीपुर-कालीमाटी सडकमा रातिको आवागमन रोकिएको छ। तुलसीपुर-घोराही सडकखण्डको ग्वारखोला पुलमा निर्माणका क्रममा पुलमुनिको माटो खसेपछि पुरानो पुल बन्द भएको छ। सल्यानको कपुरकोट–खारखोला खण्डमा पहिरो आएपछि राप्ती राजमार्ग पनि अवरुद्ध छ। रोल्पामा मदन भण्डारी राजमार्ग र घोराही, थवाङ, रुकुम सहिदमार्गमा पहिरोले यातायात रोकिएको छ।
कर्णाली प्रदेशमा कालिकोटको गगने खोलामा पहिरो खसेपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ। जुम्लाको राकाँमा पहिरो खसेपछि जुम्ला-नाग्म सडक बन्द छ। कर्णाली राजमार्गका गगने खोला, नाग्म-जुम्ला, बाङ्गेसिमल-दहीखोला र हारे क्षेत्रमा साना–ठूला पहिरो गएको छ। सडक खुलाउन टोली परिचालन गरिएको छ।
ओखलढुंगाको सिद्धिचरण लोकमार्गमा भँडारे खोलाको लेदोसहितको बाढीले करिब १५ मिटर सडक क्षति पुर्याएपछि सडक बन्द भएको छ। सडक खुलाउन एक्साभेटर, ह्विल लोडर र रक ब्रेकर परिचालन गरिएको छ। गुल्मी, रोल्पा, पर्वत, म्याग्दी, मुस्ताङ र काभ्रेसहित पहाडी जिल्लाका अन्य सडकमा पनि नयाँ पहिरो खस्ने क्रम जारी छ।
डोटीमा सम्भावित जोखिमलाई ध्यान दिँदै शनिबार बिहान ७ बजेदेखि २४ घण्टाका लागि जिल्लाभर सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। विभिन्न राजमार्गमा पहिरो हटाउन सडक विभाग, प्रहरी र स्थानीय तहका टोली तथा मेसिन परिचालन भए पनि लगातार वर्षाका कारण सडक खुलाउने काम प्रभावित भएको छ।






